×

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पर्सा–बारा औद्योगिक कोरिडोरमा उद्योग सञ्चालन गर्दै सयौँ युवालाई रोजगारी प्रदान गरेका युवा उद्यमी हर्ष बजाजलाई ‘युवा उद्यमी पुरस्कार’ बाट सम्मानित गरेको छ ।

सङ्घको ५० औँ वार्षिक साधारण सभाको अवसरमा बिहीबार आयोजित विशेष समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र सङ्घका अध्यक्ष हरि प्रसाद गौतमले संयुक्त रूपमा हर्ष बजाजलाई ‘युवा उद्यमी पुरस्कार’ प्रदान गरेका हुन् ।

हर्ष बजाजले केबी-साम एल्युमीनियम इन्डस्ट्रीज लिमिटेडको सञ्चालन तथा व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । उद्योगमार्फत सयौँ युवालाई रोजगारी प्रदान गर्नुका साथै उद्योगमा उत्पादित सामग्रीलाई भारतसम्म सफलतापूर्वक निर्यात गर्दै क्षेत्रीय अर्थतन्त्रलाई सुदृढ बनाउन भूमिका खेलेको भन्दै सङ्घले उनको दृढ सङ्कल्प, कठोर परिश्रम र उद्यमशीलताको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरेको हो ।

सम्मानित गर्दै सङ्घले जारी गरेको अभिनन्दन पत्रमा भनिएको छ, “आफ्नो युवा अवस्थादेखि नै समाज र राष्ट्रका लागि केही गरौँ भन्ने सोचले अभिप्रेरित भई उद्योग, व्यवसायको क्षेत्रमा सक्रिय रूपमा संलग्न भई नेतृत्वदायी भूमिका निर्वाह गर्दै यहाँले देखाउनु भएको दृढ निश्चय भाव, कठोर परिश्रम र कार्यप्रतिको साधनाले आज विहङ्गम स्वरूप लिएको छ । यहाँले उद्योग, व्यवसायका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको अङ्ग बनाउन तथा रोजगारी सृजनामा पुर्‍याउनु भएको योगदान यस क्षेत्रका उद्योगी, व्यवसायीहरूका लागि अनुकरणीय त छ नै, सँगसँगै उद्यमशीलताको विकासप्रति जागरूक बनाउन खेल्नु भएको अहम् भूमिका पनि अत्यन्तै सराहनीय एवम् प्रशंसनीय रहेको छ । तपाईँको उद्यमशीलताले सृजना गरेको नवप्रवर्तनको उच्च कदर गर्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ५० औँ वार्षिक साधारण सभामा यहाँलाई स-सम्मान यो युवा उद्यमी पुरस्कार प्रदान गर्दछौँ ।”

पुरस्कार ग्रहण गर्दै हर्ष बजाजले उक्त सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताए । “उद्योग क्षेत्रमा काम गर्दा धेरै चुनौतीहरू सामना गर्नुपरेको थियो, तर परिवार, टिम र स्थानीय समुदायको साथले अगाडि बढ्न सम्भव भयो । केबी-साम एल्युमीनियम इन्डस्ट्रीज लिमिटेड मार्फत हामीले सयौँ युवालाई रोजगारी दिएका छौँ र गुणस्तरीय उत्पादनमार्फत औद्योगिक करिडोरको विकासमा योगदान गरिरहेका छौँ । साथै, उद्योगमा उत्पादित सामग्रीलाई भारतसम्म निर्यात गर्दै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गरिरहेका छौँ । यो पुरस्कारले अन्य युवा उद्यमीहरूलाई पनि प्रेरणा दिनेछ भन्नेमा विश्वस्त छु । आगामी दिनमा उद्योगलाई थप विस्तार गर्दै रोजगारी सिर्जना र प्रविधिगत नवप्रवर्तनमा अझ जोड दिनेछौँ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई हार्दिक धन्यवाद,” उनले भने ।

सङ्घका अध्यक्ष हरि प्रसाद गौतमले हर्ष बजाजको सफलताले पर्सा–बारा क्षेत्रका अन्य युवाहरूलाई उद्यमशील बन्न प्रेरित गरेको बताए । गभर्नर डा. विश्वनाथ पौडेलले पनि युवा उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै यस्ता पहलहरूले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने बताए ।

Back to top