वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसबाट उम्मेदवार बनेर चुनाव लडेर पराजित भएका पूर्व मन्त्री रमेश रिजालले पनि यसपालिको निर्वाचनमा आफूले गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।
आफ्ना निर्वाचन प्रतिनिधि विनय भूषण द्धिवेदीमार्फत रिजालले आफूले निर्वाचनमा गरेको खर्चको विवरण शुक्रवार निर्वाचन कार्यालय पर्सामा बुझाउँदै सार्वजनिक गरेका हुन् ।
जसमा रिजालले कूल ११ लाख ७३ हजार ७१० रुपैयाँ मात्रै खर्च भएको दाबी गरेका छन् । रिजालले चुनावमा सबैभन्दा बढी भन्दा, ब्याच लगायतका प्रचार प्रसार सामाग्रीमा ५ लाख रुपैयाँ तथा सवारी साधन र इन्धनमा गरी २ लाख २ हजार ७१० रुपैयाँ खर्च भएको जनाएका छन् ।
त्यस्तै घरदैलो कार्यक्रम गर्दा खाजा, चिया र पानीमा १ लाख ५७ हजार रुपैयाँ, नमुना मत पत्र र ब्यानर छपाइमा १ लाख ५० हजार रुपैयाँ ,मतदाता प्रशिक्षण व्यवस्थापनमा ७८ हजार रुपैयाँ , टेन्ट, साउन्ड र मञ्च व्यवस्थापनमा ४५ हजार रुपैयाँ खर्च भएको रिजालले पेस गरेको खर्च विवरणमा उल्लेख छ ।
यसै गरी क्षेत्रीय प्रचार प्रसार सम्पर्क कार्यालय सञ्चालनमा २५ हजार रुपैयाँ, मनोनयन दर्ता शुल्कमा १० हजार रुपैयाँ र पानी तथा चियामा ३ हजार रुपैयाँ खर्च भएको रिजालले निर्वाचन कार्यालयमा पेस गरेको खर्च विवरणमा उल्लेख छ ।
फागुन २१ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार टेक बहादुर शाक्य २८ हजार ६ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार तथा पूर्व मन्त्री रिजाल १२ हजार ५३४ मतका साथ दोस्रो भएका थिए । नेकपा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीले १२ हजार १४५ मत मात्रै प्राप्त गरेका थिए ।