वीरगञ्ज । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्ज च्याप्टरले सुशासन, पारदर्शिता र जबाफदेहिताको सन्देश फैलाउन “उद्यमी वाकाथन” आयोजना गर्ने भएको छ ।
कार्यक्रम फागुन ३० गते बिहान ७ बजे वीरगञ्जको माईस्थान क्षेत्रबाट सुरु हुनेछ । वाकाथनले वीरगञ्ज सहरका विभिन्न भागहरू पार गर्दै सम्पन्न हुनेछ ।
एनवाइईएफ वीरगञ्ज च्याप्टरका अध्यक्ष विश्वास प्रताप शाहले सबै उद्यमी, व्यवसायी, युवा नेतृत्व तथा सर्वसाधारणलाई यसमा सक्रिय सहभागी हुन हार्दिक आग्रह गरेका छन् ।
“देशको आर्थिक विकास र सुशासनका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अत्यन्त महत्त्वपूर्ण छ । उद्यमीहरूबिच सहकार्य बढाउनुका साथै समाजमा उत्तरदायित्व र पारदर्शिताको संस्कृति प्रवर्द्धन गर्न यो कार्यक्रमले ठुलो सहयोग पुग्नेछ,” उनले भने ।”
अध्यक्ष शाहका अनुसार, वाकाथनले उद्यमी तथा नेतृत्व तहका व्यक्तिहरूलाई एकजुट भएर सकारात्मक सन्देश दिने अवसर प्रदान गर्नेछ । कार्यक्रममा विभिन्न उद्यमी, व्यवसायी, सामाजिक अभियन्ता तथा युवाहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
आयोजनालाई फगले प्रस्तुत गरेको छ भने सह–समर्थनमा केएनपी नेरोल्याक पेन्ट तथा समर्थनमा हेल्भेटास नेपाल रहेका छन् ।
एनवाइईएफ वीरगञ्ज च्याप्टरले यस वाकाथनमार्फत सुशासन, पारदर्शिता, जिम्मेवारी तथा आर्थिक समृद्धिका लागि सामूहिक प्रयास र ऐक्यबद्धताको सन्देश दिने लक्ष्य राखेको छ ।
सबै इच्छुक व्यक्तिहरूलाई बिहान ७ बजे माईस्थानमा उपस्थित भई सकारात्मक अभियानमा सहभागी हुन अध्यक्ष शाहले पुनः आह्वान गरेका छन् ।