×

वीरगञ्ज । कास्कीको लिचीवारि घुस प्रकरणमा मुछिएका पूर्व मन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

गुप्ताको निवेदन न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

यसअघि विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उक्त आदेशविरुद्ध गुप्ताले सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चले यसअघि निवेदनमाथि कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो ।

पोखराको लिचीवारि भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

अभियोग अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने तथा भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ ।

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता र पूर्व मन्त्री रञ्जिता श्रेष्ठविरुद्ध आपसी मिलेमतोमा २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाउँदै मुद्दा दायर गरेको थियो ।

गुप्ताले अदालतमा दिएको बयानमा आफूले कुनै घुस नलिएको दाबी गरेका छन् । तर प्रारम्भिक प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गर्दै विशेष अदालतले थुनामा पठाउने आदेश दिएको हो ।

Back to top