वीरगञ्ज । वीरगञ्जको अलखिया रोडस्थित चिल्ड्रेन पार्क (शङ्खधर साख्वा पार्क) मा नयाँ सुविधा सम्पन्न “दीपाज क्याफे एन्ड रेस्ट्रो” सञ्चालनमा आएको छ ।
बुधवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको क्याफे तथा रेस्ट्रोले पार्कमा आउने बालबालिका, अभिभावक, स्थानीयवासी तथा आन्तरिक र बाह्य पर्यटकहरूलाई लक्षित गरी सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधवार एक विशेष कार्यक्रमका बिच क्याफे तथा रेस्ट्रोको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मेयर सिंहले वीरगञ्जका युवा तथा सबै उमेर समूहका लागि रेस्ट्रो उपयोगी हुने विश्वास व्यक्त गर्दै यसको सफलताको शुभकामना दिए ।
उनले रेस्ट्रोमा चिया, विभिन्न पेय पदार्थका साथै स्वादिष्ट खानेकुराहरू उपलब्ध रहेको बताउँदै स्थानीयवासीलाई एक पटक अवश्य भ्रमण गर्न आग्रह गरे ।
मेयर सिंहले पार्कमा बालबालिका र अभिभावकहरूका लागि खेलकुद तथा मनोरञ्जनका पर्याप्त माध्यम भए पनि खानेकुरा खानका लागि उपयुक्त ठाउँको अभाव रहेको उल्लेख गर्दै यसलाई पूर्ति गर्न रेस्ट्रो सञ्चालनको अनुमति दिइएको जानकारी दिए । रेस्ट्रो बिहान ५ बजेदेखि सञ्चालन हुने भएकाले बिहान व्यायाम गर्न आउनेहरू, दिउँसो तथा साँझ मनोरञ्जनमा आउनेहरूलाई समेत सेवा उपलब्ध हुने उनले बताए ।
रेस्ट्रोका सञ्चालक रोशन गुप्ताले वीरगञ्जलाई आर्थिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न, स्थानीयवासी र बाहिरबाट आउने पर्यटकहरूलाई नयाँ तथा फरक अनुभव प्रदान गर्न दीपाज क्याफे एन्ड रेस्ट्रो सञ्चालनमा ल्याइएको बताए । उनले उच्च गुणस्तरको स्वच्छ तथा सफा वातावरणमा बिहानको खाजादेखि रातिको खानासम्म उपलब्ध गराइने जानकारी दिए ।
रेस्ट्रोमा एकै पटक १०० भन्दा बढी ग्राहकलाई सेवा दिन सकिने क्षमता रहेको छ । परिवारका लागि छुट्टै एयरकन्डिसन (बातानुकूलित) कोठा, रुफटप क्याफे, खुला ठाउँमा बस्ने व्यवस्था तथा कफीको सुविधा पनि उपलब्ध रहेको गुप्ताले बताए । साँझको समयमा खुला ठाउँमा बसेर चिया तथा अन्य पेय पदार्थको मजा लिन सकिने उनले उल्लेख गरे ।
सञ्चालक गुप्ताका अनुसार रेस्ट्रो सञ्चालनबाट प्रत्यक्ष रूपमा २० भन्दा बढी व्यक्तिहरूले रोजगारी प्राप्त गरेका छन् । क्याफे तथा रेस्ट्रोले वीरगञ्जको शङ्खधर साख्वा पार्कलाई थप आकर्षक तथा परिवारमैत्री बनाउने अपेक्षा गरिएको छ ।
स्थानीयवासी तथा पर्यटकहरूका लागि दीपाज क्याफे एन्ड रेस्ट्रोले पार्क भ्रमणलाई अझ रमाइलो बनाउने विश्वास गरिएको छ ।