×

वीरगञ्ज । मध्यपूर्व युद्धको २० औँ दिनमा इरानले कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा मिसाइल आक्रमण गरेको छ ।

आक्रमणले त्यहाँ ठुलो क्षति पुगेको छ । त्यहाँ विश्वकै सबैभन्दा ठुलो तरल प्राकृतिक ग्यास रहेको छ । कतारको ऊर्जा कम्पनी कतार इनर्जीका अनुसार उद्योगमा आगलागी भएको छ, यद्यपि मानवीय क्षति भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कतार सरकारले इरानी दूतावासका दुई उच्च अधिकारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ र यसलाई क्षेत्रीय स्थिरतामा प्रत्यक्ष खतरा भनेको छ । यूएई र साउदी अरबमा पनि ऊर्जा पूर्वाधारमाथि आक्रमणको प्रयास भएको थियो, तर सबै मिसाइल र ड्रोनहरू नष्ट गरिएको बिबिसीले जनाएको छ ।

यो हमला इरानको दक्षिण पार्स ग्यास क्षेत्रमा भएको आक्रमणको प्रतिशोधको रूपमा भएको खबरमा उल्लेख छ ।

दक्षिण पार्स र कतारको नर्थ फिल्ड संयुक्त रूपमा विश्वकै सबैभन्दा ठुलो ग्यास क्षेत्रका रूपमा परिचित छन् ।

विज्ञहरूले यो घटनाले मध्यपूर्वमा ऊर्जा आपूर्तिको जोखिम बढाउने तथा तेल र ग्यासका मूल्यमा अनिश्चितता सिर्जना गर्ने चेतावनी दिएका छन् । यो आक्रमणपछि कतारले सुरक्षा सतर्कता बढाएको छ ।

Back to top