वीरगञ्ज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को दोस्रो राष्ट्रिय परिषद् बैठक २०८२ का अवसरमा पर्सा जिल्ला कार्यसमितिलाई विशेष सम्मान प्रदान गरिएको छ ।
बुधवार काठमाडौँमा आयोजित उक्त कार्यक्रममा मधेस प्रदेशबाट एकमात्र पर्सा जिल्ला कार्यसमिति उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित भएको हो ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले सम्मान पत्र ग्रहण गरेका थिए । उनलाई प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारी तथा प्रमुख सल्लाहकार डिके ढुङ्गानाले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन् ।
जिल्ला सचिव अशोक सङ्ग्रौलाका अनुसार, सङ्गठनका नीति, नियम र निर्देशनहरूको पूर्ण पालना गर्दै सङ्गठनको गरिमा उच्च राख्न सक्रिय तथा जिम्मेवार भूमिका निर्वाह गरेको आधारमा पर्सा कार्यसमितिलाई छनोट गरिएको हो । साथै शिक्षा क्षेत्रको गुणस्तरीय विकासमा योगदान पुर्याउनुका साथै संस्थागत विद्यालयहरूको हकहित संरक्षण र सङ्गठनको सुदृढीकरणमा उल्लेखनीय भूमिका खेलेको कारण पनि पर्सालाई यो सम्मान प्रदान गरिएको उनले बताए ।
पर्सा कार्यसमितिले विद्यालय, शिक्षक तथा विद्यार्थी केन्द्रित विविध कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक तालिम, विद्यार्थी लक्षित अतिरिक्त क्रियाकलाप तथा अभिभावक–विद्यालय समन्वयलाई सुदृढ बनाउने प्रयासले जिल्लामा निजी विद्यालयहरूको स्तर उकास्न महत्त्वपूर्ण योगदान पुगेको मानिन्छ ।
कार्यक्रममा देशभरका विभिन्न जिल्ला कार्यसमितिहरूको सहभागिता रहेको थियो । परिषद् बैठकले आगामी शैक्षिक नीति, सङ्गठनको रणनीति तथा संस्थागत विद्यालयहरूको चुनौती र समाधानका विषयमा समेत विस्तृत छलफल गरेको थियो ।
प्याब्सन पर्साको उपलब्धिलाई शिक्षा क्षेत्रमा सक्रिय सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन् । यसले अन्य जिल्लाहरूलाई पनि सङ्गठनात्मक अनुशासन र शैक्षिक गुणस्तर सुधारतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।