×

वीरगञ्ज । लामो समयदेखि जीर्ण अवस्थामा रहेको वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्य बिहीबारदेखि सुरु गरिएको छ । मधेस प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले एक कार्यक्रमका बिच पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा नारायणी रङ्गशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको थियो । सोही बजेटअन्तर्गत रङ्गशालाको ‘ब्लक सी’ को प्याराफिट निर्माणका लागि काठमाडौँस्थित अङ्कुर निर्माण सेवाले २ करोड १७ लाख ७२ हजार रुपैयाँ (भ्याट बाहेक) मा ठेक्का पाएको राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर शिवचन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली काँग्रेसबाट खेलकुद मन्त्री रहेका तेजुलाल चौधरीले विनियोजन गरेको बजेट हाल निकासा भएसँगै पुनर्निर्माण कार्य अघि बढाइएको हो । हाल रङ्गशालामा रहेका जीर्ण प्याराफिटहरू डोजर प्रयोग गरी भत्काउने काम सुरु भइसकेको छ । पहिलो चरणमा पुराना संरचना हटाएर नयाँ प्याराफिट निर्माण गरिने योजना रहेको उनले बताए ।

पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक कुमार कानुले पनि जीर्ण संरचना हटाएर नयाँ निर्माण कार्य अगाडि बढाइएको पुष्टि जानकारी दिए ।

काठमाडौँको दशरथ रङ्गशालापछि दोस्रो ठुलो मानिने नारायणी रङ्गशाला करिब ३५ हजार दर्शक क्षमता भएको रङ्गशाला हो । तर, लामो समयदेखि मर्मत सम्भार नहुँदा यसको अवस्था अत्यन्त जीर्ण बनेको थियो ।

रङ्गशालाको पुनर्निर्माणका लागि स्थानीय खेल प्रेमी र खेलाडीहरूले करिब एक दशकदेखि विभिन्न दबाबमूलक आन्दोलन गर्दै आएका थिए । सङ्घीय तथा प्रदेश संसद्मा समेत यस क्षेत्रका जनप्रतिनिधिहरूले पटक–पटक आवाज उठाउँदै आएका थिए ।

विक्रम संवत् २०३८ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा करिब १७ बिघा १० कट्ठा जग्गा खरिद तथा अधिग्रहण गरी फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि रङ्गशालाको आधार तयार गरिएको थियो । २०४२ सालमा निर्माण सम्पन्न भएको रङ्गशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए ।

करिब डेढ दशक अघिसम्म राष्ट्रिय स्तरका विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदै आएको नारायणी रङ्गशाला मर्मत अभावका कारण पछिल्लो समय निष्क्रिय जस्तै बनेको थियो । पुनर्निर्माण सुरु भएसँगै अब रङ्गशालालाई पुनः खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।

Back to top