×

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा नगर प्रशासन र विभिन्न तहबाट संस्थागत रूपमा ठगी धन्दा फस्टाउँदै गएको आरोप लागेपछि स्थानीय स्तरमा तीव्र आक्रोश देखिएको छ ।

राष्ट्रिय मुक्ति पार्टी नेपालले बेरोजगार युवा तथा सर्वसाधारणमाथि विभिन्न बहानामा आर्थिक शोषण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो ।

पार्टीका सह–महासचिव नेजामुद्दीन शमानीले जारी गरेको प्रेस विज्ञप्तिमा जागिर लगाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट मोटो रकम असुल्ने गरिएको आरोप लगाइएको छ । “लामो समयसम्म काम गराएर पछि हटाउने र तलब नदिई युवाहरूको श्रममाथि खेलबाड गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकामा कर वृद्धि गरेर नागरिकमाथि आर्थिक भार थपिएको पनि आरोप लगाइएको छ । पहिले ३०० रुपैयाँ लाग्ने सम्पत्ति करलाई बढाएर १५०० रुपैयाँ पुर्‍याइएकोप्रति विरोध जनाइएको छ । आन्दोलनपछि १० प्रतिशत मात्रै कर घटाइनुले समस्या समाधान नहुने स्थानीयको भनाइ छ ।

त्यसैगरी नगर विस्तार तथा विकास योजनाका नाममा रकम असुली, डिपिआर तयार गर्ने क्रममा अनियमितता र बजेट दुरुपयोग भएको आरोप समेत लगाइएको छ । सार्वजनिक बजेटलाई प्रभावकारी रूपमा प्रयोग नगरी व्यक्तिगत लाभ र कार्यकर्ता पोस्ने कार्यमा खर्च गरिएको दाबी गरिएको छ ।

यद्यपि नगरपालिकामा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) लगायतका प्रमुख दलहरूको प्रतिनिधित्व रहे पनि यस्ता गतिविधि रोक्न नसकिएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

राष्ट्रिय मुक्ति पार्टीले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कानुनी कारबाही, पीडितलाई क्षतिपूर्ति तथा कर प्रणाली सुधारलगायत पाँच बुँदे माग अघि सारेको छ ।

“अब चुप लागेर बस्ने समय छैन, भ्रष्टाचार र ठगीविरुद्ध एकजुट भएर आवाज उठाउन आवश्यक छ,” सह–महासचिव शमानीले चेतावनी दिँदै आगामी दिनमा सशक्त आन्दोलन गर्ने सङ्केत दिएका छन् ।

Back to top