वीरगञ्ज । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पश्चात् डा. महावीर पुनले पहिलो पटक वीरगञ्जमा आफ्नो आत्मकथा किताब बिक्री गरेका छन् ।
म्याग्दी निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका डा. पुनले आइतबार साँझ वीरगञ्ज पुगेर सोमबार बिहान घण्टाघर चोकमा र दिउँसो कृषि औजार कारखानामा आफ्नो आत्मकथा किताब बिक्री गरेका हुन् ।
उनले सोमबार बिहान ८ देखि ११ बजेसम्म घण्टाघर चोकमा बसेर १५० थान किताब बिक्री गरेको जानकारी दिएका छन् । डा. पुनले मङ्गलवार साँझसम्म वीरगञ्जस्थित कृषि औजार कारखानामा रहने बताउँदै किताब किन्न इच्छुकहरूले कारखानामै सम्पर्क गर्न सक्ने जनाएका छन् । मङ्गलवार साँझ उनी काठमाडौँ फर्किने कार्यक्रम छ ।
चुनावपछि फुर्सदको समय सदुपयोग गर्दै विभिन्न जिल्लामा किताब बिक्री अभियान चलाएको उनले बताए । “यसअघि किताब बेच्दै हिँड्दा बिचमा मन्त्री भइयो, मन्त्री हुँदा किताब बेच्न सकिएन । चुनावमा उठ्दा पनि बेच्न सकिएन । अब चुनाव जितेपछि फुर्सद छ, त्यही भएर किताब बेच्न हिँडिरहेको छु,” उनले भने ।
संसद् बैठक चल्दा सांसदको रूपमा काम गर्ने र बैठक नभएका बेला किताब बेच्ने योजना रहेको उनको भनाइ छ । किताब बिक्रीबाट आएको रकमले वीरगञ्ज कृषि औजार कारखानालाई ठुलो र राम्रो बनाउने उनको लक्ष्य छ ।
यसअघि २०८१ भदौ अन्तिम साता वीरगञ्ज आएका पुनले ९ दिनको बसाइमा २ हजार थान किताब बिक्री गरेका थिए ।
सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मन्त्री बन्नुअघि लगातार ५२६ दिन किताब बिक्री गर्दै करिब २ लाख ५० हजार थान किताब बेचेर १२ करोडभन्दा बढी आम्दानी गरेको बताएका छन् । त्यही रकमले वीरगञ्ज कारखाना सञ्चालन गरिरहेको उनको भनाइ छ ।
वीरगञ्ज कृषि औजार कारखानाको इतिहास र पुनः सञ्चालन
सोभियत सङ्घ (रुस) को सहयोगमा विक्रम संवत् २०२१ मा स्थापित सरकारी स्वामित्वको वीरगञ्ज कृषि औजार कारखाना निरन्तर घाटामा गएपछि सरकारले २०५९ मा पूर्ण रूपमा बन्द गरेको थियो । दुई दशक बन्द रहेको कारखाना पुनः सञ्चालनका लागि सरकारले २०७९ भदौ ३१ मा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको थियो ।
अर्थ मन्त्रालयसँग २०७९ असोज ११ मा भएको सम्झौताअनुसार मर्मत सम्भारका लागि बजेट उपलब्ध गराउनुपर्ने थियो । कार्यदलको प्रतिवेदनअनुसार कारखाना पुनः सञ्चालनमा ३० करोड रुपैयाँ आवश्यक परेको थियो । तर अर्थ मन्त्रालयले बजेट नदिएपछि डा. पुनले २०८० पुसदेखि आफ्नो आत्मकथा किताब बेचेर रकम जोहो गर्ने अभियान थालेका हुन् ।
कारखानामा पुराना मेसिन मर्मत गरी हालसम्म करिब ५ दर्जन प्रकारका कृषि औजार उत्पादन तथा बिक्री वितरण भइरहेको छ । डा. पुनको यो प्रयासले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै स्वदेशी प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन मिलिरहेको छ ।