वीरगञ्ज । इरानले अमेरिका र इजरायलसँगको चलिरहेको द्वन्द्वबाट पछि नहट्ने कडा अडान कायम राखेको छ । अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट भएको क्षतिको पूर्ण क्षतिपूर्ति नभएसम्म युद्ध जारी राख्ने इरानको स्पष्ट भनाइ सार्वजनिक भएको हो ।
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले एक टेलिभिजन अन्तर्वार्तामा यस्तो अडान दोहोर्याएका छन् । उनले भने, “क्षतिपूर्ति नभएसम्म लडाइँ जारी रहन्छ । साथै, इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध तुरुन्त हटाइनुपर्छ र भविष्यमा अमेरिकाबाट कुनै पनि प्रकारको हस्तक्षेप नहुने ठोस ग्यारेन्टी हुनुपर्छ ।”
रजाईले इरानी सेना पूर्ण क्षमताका साथ लडिरहेको र नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको नेतृत्वमा देशलाई मजबुत रूपमा सम्हालिएको बताए ।
मोहसेन रजाईले युद्ध एक हप्ताभित्रै समाप्त हुन सकिने अवस्था रहे पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमण जारी राख्न जोड दिएका कारण युद्ध लम्बिएको दाबी गरेका छन् ।
उनले भने, “अमेरिका युद्ध विरामका लागि तयार थियो र सङ्घर्ष अन्त्यतर्फ अघि बढिरहेको थियो । तर नेतन्याहुको अडानका कारण युद्ध लम्बिन पुग्यो ।”
रजाईका अनुसार युद्धको १५औँ दिनपछि नै अमेरिकाले पनि यसमा जितको कुनै सम्भावना नभएको बुझिसकेको थियो ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा नयाँ राजनीतिक व्यवस्था ल्याउने विकल्पमा अमेरिका सक्रिय रूपमा काम गरिरहेको बताएका छन् ।
फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “भेनेजुएलामा जस्तै नयाँ नेता ल्याउन सकिन्छ वा अमेरिकासँग मिलेर संयुक्त नेतृत्व (ज्वाइन्ट लिडरशिप) मोडेल पनि अपनाउन सकिन्छ ।”
ट्रम्पले इरान वार्ताका लागि उत्सुक रहेको र चाँडै सम्झौता गर्न चाहेको पनि जिकिर गरे । यसअघि उनले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेका थिए ।
ट्रम्पले इरानमा सत्ता परिवर्तन हुन सक्ने र यसका लागि एक विशेष व्यक्तिसँग छलफल भइरहेको बताएका थिए । तर इरानले ट्रम्पको उक्त भनाइको तीव्र खण्डन गरिसकेको छ ।