वीरगञ्ज । चिनियाँ विद्युतीय गाडी उत्पादक कम्पनी विल्ड योर ड्रिम्स (बीवाइडी) को पर्सा, बारा र रौतहटसहित मधेस प्रदेशको अधिकांश जिल्लाहरूको लागि आधिकारिक विक्रेता नीरज अटोमोबाइल्स प्रालिलाई एक वर्षमा सर्वाधिक गाडी बिक्री गरे बापत उत्कृष्ट सेल्स बेन्चमार्क अवार्ड २०२५ बाट सम्मानित गरिएको छ ।
बापत उत्कृष्ट सेल्स बेन्चमार्क अवार्ड प्रोत्साहन स्वरूप वीरगञ्जस्थित नीरज अटोमोबाइल्स प्रालिलाई प्रदान गरिएको हो । चीनको सेन्जेनमा सम्पन्न बीवाइडी एसिया प्यासिफिक डिलर्स कन्फरेन्समा नीरज अटोमोबाइल्सको तर्फबाट संस्थापक गौरव अग्रवाल र आकाश सर्राफले पुरस्कार ग्रहण गरेका छन् ।
कन्फरेन्समा नेपालका विभिन्न बीवाइडी डिलरहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो । नीरज अटोमोबाइल्सले भने सर्वाधिक बिक्रीको आधारमा प्रतिष्ठित अवार्ड हासिल गरेको हो ।
संस्थापक गौरव अग्रवालले पुरस्कार ग्रहण गर्दै अवार्ड आफ्नो टिमको मेहनत, ग्राहकको विश्वास र बीवाइडीको उत्कृष्ट प्रविधिको परिणाम भएको बताए । “छोटो समयमै नेपालमा बीवाइडी गाडीहरू लोकप्रिय बन्नु खुसीको कुरा हो । हामी अझ राम्रो सेवा र बढी बिक्रीका लागि प्रतिबद्ध छौँ,” उनले भने ।
अर्का संस्थापक आकाश सर्राफले बीवाइडीका गाडीहरूमा रहेका अत्याधुनिक फिचर, उन्नत ब्याट्री प्रविधि र पर्यावरणमैत्री विशेषताले ग्राहकहरूलाई आकर्षित गरेको बताए । “सम्मानले हामीलाई थप ऊर्जा दिएको छ । भविष्यमा पनि विद्युतीय गाडीको प्रवर्द्धन गर्दै नेपालको सडकमा हरित यातायात बढाउन योगदान दिनेछौँ,” उनले भने ।
बीवाइडीका गाडीहरू छोटो समयमै नेपालमा लोकप्रिय बनेका छन् । अत्याधुनिक प्रविधि, उच्च सुरक्षा फिचर र प्रतिस्पर्धी मूल्यका कारण ग्राहकहरूबिच यिनीहरूको माग बढ्दो छ । नीरज अटोमोबाइल्सले वीरगञ्ज केन्द्रित भएर सेवा प्रदान गर्दै आएको छ र यस अवार्डले कम्पनीको बिक्री प्रदर्शनलाई थप उजागर गरेको छ ।