×

मुम्बई । चर्चित जोडी विजय देवरकोंडा र रश्मिका मन्दाना विवाहपछि पुनः आफ्नो काममा फर्किएका छन् । गत फेब्रुअरी २६ मा राजस्थानको उदयपुरमा सानदार समारोहबिच विवाह बन्धनमा बाँधिएका यो जोडी बिहीबार (मार्च २६) बाट काममा फर्किएका हुन् ।

यो जोडी आन्ध्र प्रदेशको अनन्तपुरमा फिल्म ‘रणबाली’ सेटमार्फत काममा फर्किएका हुन् । सेटमा उनीहरूलाई आरतीसहित भव्य स्वागत गरिएको छ । नवविवाहित जोडीको रूपमा आफ्नो पहिलो फिल्म छायाङ्कन सुरु गर्नुअघि उनीहरू साधारण पोसाक र निधारमा तिलक लगाएको अवस्थामा देखिएका थिए ।

विवाहको एक महिना पुगेको अवसरमा विजयले सामाजिक सञ्जालमा एक सुन्दर र अनसिन तस्बिर साझा गर्दै आफ्ना भावना व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘हरेकको जीवनमा केही यस्ता महत्त्वपूर्ण मोडहरू आउँछन्, जसको सामना सबैले गर्नुपर्ने हुन्छ ।’

विजय र रश्मिकाले निकै निजी समारोहका बिच परिवार र नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । विवाहको केही दिनपछि अर्थात् मार्च ४ मा उनीहरूले हैदराबादमा भारतीय चलचित्र क्षेत्रका दिग्गज कलाकारहरूको उपस्थितिमा एक भव्य ‘वेडिङ रिसेप्शन’ को आयोजना गरेका थिए ।

‘रणबाली’ विजय र रश्मिकालाई पुनः एकसाथ पर्दामा हेर्नका लागि प्रशंसकहरू निकै उत्साहित छन् । ‘रणबाली’ एक ऐतिहासिक एक्सन ड्रामा चलचित्र हो । यो चलचित्र सन् २०२६ सेप्टेम्बर ११ मा विश्वभरका सिनेमा घरमा प्रदर्शन हुने तयारीमा छ ।

Back to top