अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना परमाणु हतियार नत्यागे उसले आफ्नो देश नै गुमाउनुपर्ने चेतावनी दिएका छन्। एयर फोर्स वानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले इरान अहिले पूर्णरूपमा ध्वस्त भएको र उसले आफ्नो आणविक महत्वकांक्षा त्याग्नुको विकल्प नरहेको स्पष्ट पारेका हुन्।
ट्रम्पले इरानी नेताहरूले परमाणु हतियार त्याग्ने र अमेरिकाले चाहेअनुसारका सबै सर्तहरू मान्ने विश्वास व्यक्त गर्दै यदि त्यसो नगरे इरान एउटा देशको रूपमा अस्तित्वमा नरहने र उसको नक्सा नै मेटिनसक्ने चेतावनी दिए। इरानले परमाणु धुलो अमेरिकालाई बुझाउनुपर्ने र त्यसपछि मात्र इरान फेरि एउटा राम्रो देश बन्नसक्ने बाटो खुल्ने उनको भनाई थियो।
इरानसँगको सम्झौताका बारेमा ट्रम्पले निकै छिटो सकारात्मक नतिजा आउनसक्ने संकेत गर्दै इरानमा सत्ता परिवर्तन भइसकेको र अमेरिकाले अहिले पुरानो नभई पूर्णरुपमा नयाँ समूहसँग वार्ता गरिरहेको दाबी गरे।
ट्रम्पकाअनुसार इरानको पुरानो शासन संयन्त्रका अधिकांश व्यक्तिहरु मारिइसकेको अथवा समाप्त भइसकेको र अहिलेका नयाँ प्रतिनिधिहरू पहिलेको भन्दा धेरै समझदार देखिएका छन्। उनले मोज्ताबा खामेनी जीवितै रहेको हुनसक्ने भएपनि उनी गम्भीर रूपमा घाइते भएको दाबीसमेत गरे। ट्रम्पले इरानसँग प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट वार्ता भइरहेको र इरानी पक्षले धेरै कुराहरूमा सहमति जनाइसकेकोसमेत जानकारी दिए।
ट्रम्पले अमेरिकासँगको वार्तामा इरानले सम्मान स्वरूप स्ट्रेट अफ होर्मुजबाट २० वटा तेल ट्याङ्करहरू जान दिने सहमति जनाएको खुलासा गर्दै अमेरिकाले अघि सारेको १५ बुँदे योजनाका अधिकांश बुँदामा इरान सहमत भइसकेको र यो वार्ताको ठूलो सफलता भएको बताए।
ट्रम्पले इरानमा स्थल सेना उतार्नुको सट्टा अमेरिकासँग अन्य धेरै शक्तिशाली विकल्पहरू रहेको र इरानविरुद्धको सैन्य कारबाही निर्धारित समय तालिका भन्दा धेरै अगाडि रहेको दाबी गरे। इरानले लामो समयदेखि नदिएका कुराहरू अहिले दिन तयार भएको भन्दै वार्ताको प्रक्रिया अत्यन्तै राम्रोसँग अगाडि बढेको ट्रम्पको दाबी छ। इरानसँग सम्झौता हुनेमा आफू विश्वस्त रहेको भएपनि अन्तिममा जे पनि हुनसक्ने सम्भावनालाई नकार्न नसक्ने उनको भनाई छ।