×

वीरगञ्ज । जेन-जी आन्दोलनबाट उत्पन्न जनदबाबपछि देशले नयाँ पुस्ताको नेतृत्व पाएको छ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले १५ मन्त्रीसहित मन्त्रालयहरूको कामकाज अघि बढाइरहेका बेला अहिले सिंहदरबारको दृश्य विगतभन्दा पूर्णतः फरक देखिन थालेको छ।

पहिले सरकार गठनसँगै मन्त्रीहरूले पदबहाल गर्ने दिनदेखि नै बधाई दिने, शुभकामना सुनाउने र भीड बढाउने संस्कार जस्तै संस्थागत भइसकेको थियो। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत दलले सरकार चलाउँदा मन्त्रीहरूको कक्ष बाहिरै लामो लाइन लाग्ने गर्थ्यो। पार्टी कार्यकर्ता, नेताका आफन्त र चिनेका व्यक्तिहरूले हप्ता दिनसम्म पनि बधाई र भेटघाटको क्रम चलिरहुन्थ्यो।

तर अहिलेको युवा–केन्द्रित सरकार बनेपछि सिंहदरबारको वातावरण सुनसान र काममुखी बनेको छ। मन्त्रीहरूले जिम्मेवारी सम्हालेको एक हप्ता बितिसक्दा पनि भेटघाट र भीडभाड देखिन नपिएको मन्त्रालयका कर्मचारीहरू बताउँछन्।

सिंहदरबारमा अहिले काम विशेषका लागि मात्र आउने नागरिक देखिन थालिएको छ। अनौपचारिक भेटघाट, चापलुसी र राजनीतिक पहुँचका आधारमा मन्त्रालय धाउने प्रवृत्ति हराउँदै गएको छ।

सरकारका सदस्यहरूले आफूहरू काम गर्न आएको, औपचारिकता र भीडभाडको संस्कार हटाई नतिजा दिने शैलीमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जेन-जी आन्दोलनले मागेको नयाँ राजनीतिक संस्कार र सरल शासन प्रणाली निर्माणतर्फ यो सकारात्मक संकेत मानिएको छ।

Back to top