रुसको तातारस्तानस्थित एक पेट्रोकेमिकल प्लान्टमा लागेको आगो निभाउने क्रममा एक अग्निनियन्त्रकको मृत्यु भएको छ। यससँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको रुसी आपतकालीन अवस्था मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयकाअनुसार आगो निभाउने र मानिसको उद्धार गर्ने क्रममा २७ वर्षीय ती अग्निनियन्त्रक अचानक भएको विस्फोटमा परेका अग्निनियन्त्रक गम्भीर घाइते भएका थिए। खोज तथा उद्धारका साथै आगो निभाउने कार्यका क्रममा अन्य तीन जना अग्निनियन्त्रकपनि घाइते भएका छन्।
यसअघि, रुसी ग्यास प्रशोधन तथा पेट्रोकेमिकल कम्पनी ‘सिबुर’ले उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको र ७० भन्दा बढी घाइते भएको जनाएको थियो। कम्पनीकाअनुसार प्रभावित भएको उक्त प्लान्ट पश्चिम रुसमा यसको सहायक कम्पनी ‘निज्नेकाम्स्कनेफ्टेखिम’द्वारा सञ्चालित छ।
मन्त्रालयले जनाएअनुसार प्लान्टको एक पम्पिङ युनिटमा आगो लागेपछि विस्फोट भएको र त्यसपश्चात भीषण आगलागी सुरु भएको थियो। हाल आगो नियन्त्रणमा आइसकेको मन्त्रालयले बताएको छ। रुसको अनुसन्धान समितिले यस घटनाको सम्बन्धमा छानबिन शुरु गरेको छ।