वीरगञ्ज । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १५ रुपैयाँ बढाएको छ । एक साताभित्र दोस्रो पटक भएको यो मूल्यवृद्धिपछि जनस्तरमा सरकारको व्यापक आलोचना भइरहेको छ । विपक्षी दलका नेता, कार्यकर्ता तथा आम सर्वसाधारणले मूल्यवृद्धिको विरोध गर्दै आएका छन् ।
तर विरोधको क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नाम जोडेर ठुलो भ्रम फैलाइएको पाइएको छ । केही दलका नेता तथा पूर्व सांसदहरूले बालेन शाहले लेखेको भन्दै एडिट गरिएको पुरानो पोस्टलाई सामाजिक सञ्जालमा सेयर गर्दै भ्रम फैलाइरहेका छन् ।
वास्तवमा उक्त पोस्ट सन् २०२४ नोभेम्बर १५ मा बालेन शाहले काठमाडौँको फोहोर व्यवस्थापन र चुनावअघिको विषयमा लेखेका थिए । सोही पोस्टलाई एडिट गरी “भारतबाट तेलको मूल्य बढ्यो भन्दैमा बढाउन पाइन्छ ? जनतालाई राहत दिनुपर्ने सरकारको कर्तव्य हैन र ? यस्तै महँगी भइरहने हो भने सरकारको काम के हो ? जनताको सरकार किन चाहियो” लेखेर सामाजिक सञ्जालमा स्क्रिन सट सेयर गर्दै भ्रमपूर्ण रूपमा प्रचार गरिएको पाइएको हो ।
भ्रम फैलाउनेमा नेकपा (एमाले) का पूर्व सांसद प्रभु हजारा र नेपाली काँग्रेसबाट समानुपातिक उम्मेदवार बनेकी प्रियङ्का दासलगायत रहेका छन् । उनीहरूले बालेन शाहको नाम जोडेर जनतामा गलत सूचना प्रसारित गरिरहेको पाइएको छ ।
मूल्यवृद्धिपछि सरकारले जनतालाई राहत दिन नसकेको भन्दै व्यापक असन्तुष्टि बढेको छ । विपक्षी दलहरूले भयो निर्णयलाई जनविरोधी भनेका छन् । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार मूल्य र विनिमय दरका आधारमा मूल्य समायोजन गरेको दाबी गरेको छ । तर जनताले भने महँगी बढाउने निर्णयले दैनिक जीवनलाई थप प्रभावित पार्ने बताएका छन् ।
प्रधानमन्त्री बालेन शाहले लेखेको वास्तविक पोस्ट ।