×

वीरगञ्ज । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले प्रक्षेपण गरेको ‘आर्टिमिस २’ मिसनले इतिहास रच्ने बाटोमा अघि बढेको छ । फ्लोरिडाबाट उडेको आर्टिमिस यानले पृथ्वीको कक्षमा २४ घण्टा फन्को लगाएर इन्जिन बर्नको महत्त्वपूर्ण चरण सफलतापूर्वक पार गरेको छ । अब आर्टिमिस यान चन्द्रमातर्फको यात्रामा लागेको छ ।

‘ओरिअन’ क्याप्सुलमा सवार चार जना अन्तरिक्षयात्रीहरूले इन्जिन बर्नको सफलतापछि पृथ्वीको कक्ष छाडेर चन्द्रमाको यात्रा सुरु गरेका हुन् । उक्त इन्जिन बर्न छ मिनेटभन्दा कम समयमै पूरा भएको थियो । नासाले यो चरण पूर्ण रूपमा सफल भएको जनाएको छ ।

‘आर्टिमिस २’ मिसन मिसनमा तीन अमेरिकी अन्तरिक्षयात्री रिड वाइजमन, क्रिस्टिना कोच, भिक्टर ग्लोभर र क्यानडेली अन्तरिक्षयात्री जेरमी ह्यान्सन संलग्न छन् । क्यानडेली अन्तरिक्षयात्री जेरमी ह्यान्सनले पृथ्वीलाई पछाडि छोड्दै देखिएको अनौठो दृश्य अविस्मरणीय रहेको बताएका छन् । उनले इन्जिन बर्नपछि दिएको प्रतिक्रियामा भने, “मानिसहरूले पुनः एक पटक आफ्नो क्षमता प्रदर्शन गरेका छन् ।”

नासाका ‘ओरिअन’ यानका व्यवस्थापक होवार्ड हूले मिसनलाई “उत्तम रूपमा उकालो” लागिरहेको बताए । उनले पछिल्लो २४ घण्टा आफू राम्रोसँग सुत्न पनि नपाएको बताएका छन् ।

यो १० दिने यात्रामा अन्तरिक्ष यात्रीहरूले अहिलेसम्मकै सबैभन्दा टाढाको मानव यात्रा तय गर्नेछन् । उनीहरूले कुल २ लाख १९ हजार ६३९ नटिकल माइल यात्रा तय गर्ने अनुमान छ । यसअघि सन् १९७० को ‘अपोलो’ मिसनमा १३ जना अन्तरिक्षयात्रीले २ लाख १७ हजार नटिकल माइल यात्रा तय गरेका थिए ।

अमेरिकी समयअनुसार सोमवार ‘ओरिअन’ यान चन्द्रमा नजिक पुग्नेछ । त्यसपछि अझ परसम्म गएर फिर्ती यात्रा तय गर्नेछ । अन्तरिक्ष यात्रीहरूले चन्द्रमामा पाइला भने टेक्ने छैनन् । उनीहरूले चन्द्रमाको फन्को लगाउने र ‘ओरिअन’ यानको सञ्चालन तथा व्यवस्थापनको अभ्यास गर्ने छन् ।

मिसन नासाको दीर्घकालीन योजनाको महत्त्वपूर्ण चरण हो । यसले भविष्यमा चन्द्रमाको सतहमा मानव अवतरण गर्नका लागि आवश्यक प्रविधि र सुरक्षा परीक्षण गर्नेछ । नासाले यसलाई चन्द्रमा पछि मङ्गल ग्रहसम्मको यात्राको मार्ग प्रशस्त गर्ने कदमका रूपमा लिएको छ ।

यात्रा सुरु भएपछि अन्तरिक्ष यात्रीहरूले पहिलो पटक अन्तरिक्षमा खाना खाएका छन् । उनीहरू प्रत्यक्ष प्रसारणमा छन् । नासाका अधिकारीहरूका अनुसार उनीहरूले परिवारसँग छिट्टै कुरा गर्ने मौका पाउनेछन् ।

नासाले हालसम्मको उडान पूर्ण रूपमा त्रुटिरहित रहेको बताएको छ । यान अप्रिल १० मा प्रशान्त महासागरमा अवतरण गर्ने योजना छ । यो मिसनले चन्द्रमामा मानव फर्काउने ऐतिहासिक अभियानको नयाँ अध्याय खोल्ने अपेक्षा गरिएको छ ।

Back to top