वीरगञ्ज । वीरगञ्जस्थित ज्ञानदा एकेडेमीले आफ्नो वार्षिक परम्परालाई निरन्तरता दिँदै एसकेजी (सिनियर केजी) को दीक्षान्त समारोह शुक्रवार भव्य रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रममा सिनियर केजीबाट कक्षा १ मा पास भएर गएका विद्यार्थीहरूलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको छ । समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिँदै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कोइरालाले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढ्नुका साथै चुनौतीहरूको सामना गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने बताए ।
यस कार्यक्रमले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी शैक्षिक यात्राका लागि प्रेरणा प्रदान गरेको विद्यालय प्रशासनले जनाएको छ । हरेक वर्षझैँ यस वर्ष पनि कार्यक्रम उत्साह, हर्ष र उल्लासका साथ सम्पन्न भएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि डा. अजय कुमार यादव र डा. प्रमीला गुप्ता यादव रहेका थिए भने विशेष अतिथिका रूपमा माधुरी महतोको उपस्थिति रहेको थियो । कार्यक्रम ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस अवसरमा विद्यालयकी उप-प्रधानाध्यापिका जागृति मिश्र, शैक्षिक प्रमुख सन्ध्या वसिष्ठ तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण प्रि–प्राइमरी संयोजक मुना रानाले गरेकी थिइन् भने किन्डरगार्टेन तहका सम्पूर्ण शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो ।