‘जब हामी सुनिल ग्रोभरलाई हेरिरहेका थियौँ, तब मलाई लाग्यो कि म कति ‘असक्षम’ छु। उनी कमेडी गर्ने प्रयास गर्दैनन्, बरु चरित्र बाँच्छन्,’ सलमान खानले यो कुरा सन् २०१७ मा भनेका थिए।
करिब नौ वर्षपछि ओटीटी प्लेटफर्म नेटफ्लिक्समा आउने ‘द ग्रेट इन्डियन कपिल शो’ को एउटा एपिसोडमा जब स्टेजमा ‘फादर खान’ नामक चरित्रको इन्ट्री हुन्छ, तब उक्त एपिसोडका अतिथि फिल्ममेकर डेभिड धवनले ‘भाइजानको याद दिलायो’ भनेको देखिन्छ।
चकित डेभिड धवन मात्र थिएनन्, उनका छोरा वरुण धवन, स्टेजको अर्कोतर्फ बसेकी अर्चना पुरन सिंह र नवजोत सिंह सिद्धु पनि आश्चर्यचकित हुँदै फादर खानको यो अभिनय हेरिरहेका थिए। अनि स्टुडियोमा उपस्थित दर्शकको तालीले नै बताइरहेको थियो कि स्टेजमा उनीहरूले कस्तो जादु देखिरहेका छन्।
फेरि एकपटक सुनिल ग्रोभरले यस्तो केही गरेका छन्, जसलाई केवल ‘मिमिक्री’ (नक्कल) मात्र भन्नु उनको प्रतिभाका लागि उचित शब्द लाग्दैन। दिवंगत अभिनेता कादर खानको चरित्रलाई ग्रोभरले जसरी निर्वाह गरे, त्यसपछि यो अभिनय सामाजिक सञ्जालमा निकै भाइरल भयो।
अभिनेता गजराज रावले आफ्नो एउटा पोस्टमा लेखेका छन्, ‘सुनिल ग्रोभर केवल नक्कल मात्र गर्दैनन्, उनी त्यो व्यक्तिको आत्मामै प्रवेश गर्छन्। उनीहरूको बोल्ने शैली, लवज र हाउभाउलाई अपनाउँछन्। उनको कला दिव्य छ, उनी अद्भुत छन्।’
नेटफ्लिक्समा आउने यसै शोमा सुनिल ग्रोभरले आमिर खानको रूप पनि धारण गरे। आमिर यसरी हैरान भए मानौँ उनी कुनै ऐनासामु उभिएका छन्।
सुनिलको तारिफ गर्दै आमिरले भनेका थिए, ‘उनी केवल तपाईंको आवाज वा हाउभाउको नक्कल मात्र गर्दैनन्, बरु त्यसभन्दा अगाडि जान्छन्, उनी तपाईंको सोचलाई बुझ्छन्।’
त्यसपछि आमिर खान प्रोडक्सनको फिल्म ‘ह्याप्पी पटेल’ का लागि सुनिल ग्रोभर र आमिर खान, फिल्मका सह-निर्देशक तथा अभिनेता वीर दाससँगै फिल्मको प्रवर्द्धन गरिरहेको देखिए।
कपिल शर्मा शोमा सुनिल ग्रोभरले निकै सूक्ष्म रूपमा सलमान खानको शारीरिक हाउभाउ पक्रे, उनको बोल्ने एउटा विशेष शैलीलाई टिपे। यो अभिनय पनि दर्शकमाझ निकै चर्चाको विषय बनेको थियो।
केही वर्षअघि सलमानले भनेका थिए, ‘उनी कमेडी गर्ने प्रयास गर्दैनन् बरु चरित्र बाँच्छन्। जब म र सोहेल उनलाई हेरिरहेका थियौँ, तब मलाई लाग्यो म कति असक्षम छु।’
यसै शोको दौरान ‘गुत्थी’ को चरित्र पनि सुनिल ग्रोभरले वर्षौँ पहिले निर्वाह गरेका थिए। यो सुपरहिट भएपछि उनले अमिताभ बच्चनदेखि अजय देवगनसम्मका चरित्रलाई उतारे।
प्रसिद्ध गीतकार गुलजारको सट्टामा उनी यस शोमा ‘फुलजार’ बनेर आउँदा शोमा उपस्थित मानिसहरू चकित परेका थिए।
सुनिल ग्रोभरलाई देख्दा यस्तो लाग्छ कि उनी कुनै चरित्रलाई ओढ्दैनन्, त्यसमै प्रवेश गर्छन्। तर ग्रोभर यो कसरी गर्न सक्छन् त?
छुट्टाछुट्टै अन्तर्वार्तामा उनले दिएका जवाफको सारले बताउँछ कि सुनिल ग्रोभर चरित्रहरूलाई केवल सूक्ष्म रूपमा हेर्ने मात्र गर्दैनन्, तिनलाई महसुस गर्छन् र त्यस चरित्रमा यसरी ढल्छन् कि मानिसहरू आश्चर्यचकित हुन्छन्।
हो, यो फरक कुरा हो कि कपिल शर्मा शोले सुनिल ग्रोभरलाई जुन स्थान दियो, त्यो उनलाई अरू कुनै शोले दिएन। एक-दुई पटक सुनिल ग्रोभरले कपिल शर्माको टिमबाट अलग भएर आफ्नै बलबुतामा केही नयाँ गर्ने प्रयास गरे, तर उनले सफलता पाएनन्।
कपिल शर्मासँगको मनमुटाव र आरोप-प्रत्यारोपका बिच सुनिल ग्रोभर लामो समयसम्म यस कमेडी शोबाट टाढा पनि रहे। यसबिच उनले फिल्महरूमा पनि हात हाले। तर उनलाई असली पहिचान कपिल शर्मा शोले नै दिलायो।
हरियाणाको मण्डी डबवालीमा जन्मिएका सुनिल ग्रोभरका लागि कामको ढोका तब खुल्यो, जब उनी चण्डीगढको जीजीडीएसडी कलेजमा पढ्दै थिए।
युट्युब च्यानल जिस्टलाई दिएको एक अन्तर्वार्तामा ग्रोभर बताउँछन् कि कसरी कमेडीसँग उनको साक्षात्कार जसपाल भट्टीको शो ‘फुल टेन्सन’ बाट भयो।
सन् १९९५ मा आएको यस व्यंग्यात्मक शोका लागि भट्टी केही कलाकार खोज्दै थिए र ग्रोभरले जब यो कुरा थाहा पाए, उनकै शब्दमा भन्ने हो भने ‘उनी त्यत्तिकै मुख उठाएर गएका थिए।’
उनलाई शोका लागि छनोट पनि गरियो तर ग्रोभरका अनुसार धेरै समयपछि भट्टीबाटै उनलाई थाहा भयो कि पहिलो दिन उनलाई देखेरै यो तय गरिएको थियो कि उनलाई ‘खरिदार टाइप’ को भूमिकाका लागि लिइनेछ।
यसै शोमा पहिलो पटक ग्रोभर टिभी स्क्रिनमा देखिएका थिए, जसका लागि उनको पूरै परिवार टिभी अगाडि बसेको थियो।
अनि ग्रोभरको संवाद थियो, ‘डाकु आए, डाकु आए, डाकु आए।’ केही सेकेन्डका लागि टिभीमा आएका ग्रोभरको यो पहिलो इन्ट्री उनको परिवारका केही सदस्यले देख्नै पाएनन्, किनकि उनीहरू त्यसबेला बाथरुम, भान्सा वा घरको कुनै अर्को कुनामा थिए।
२९ वर्षपछि एउटा युट्युब शोमा ग्रोभर मुम्बईस्थित आफ्नो सुन्दर घरका विभिन्न कुनाहरू देखाइरहेका छन्। यसै क्रममा उनको हास्य कलाको एउटा रहस्य पनि खुल्छ, उनी बताउँछन् कि उनलाई किताबहरूसँग कति धेरै प्रेम छ।
उनको र्याकमा राखिएका अंग्रेजी-हिन्दी किताबहरूमा तपाईंले श्रीलाल शुक्लले लेखेको कालजयी उपन्यास ‘राग दरबारी’ पनि देख्न सक्नुहुन्छ।
ग्रोभर यस शोमा भन्छन्, व्यंग्यकार शरद जोशी उनका मनपर्ने लेखक हुन्, जसले लेखेका १०० व्यंग्यको संकलन भएको किताब, सम्भवतः उनको प्रिय किताबहरूमध्ये एक हो।
यो जानकारीले अरू धेरै कुरा नभने पनि यति त पक्कै बताउँछ कि शरद जोशीको जस्तै ग्रोभरको हास्य-भाषामा पनि समाजको नाडी पकड्ने जादु छ।
फरक यत्ति हो कि जोशी व्यंग्य गर्थे अनि ग्रोभर अवलोकनात्मक कमेडी गर्छन्, जसको निशाना जो कोही पनि हुन सक्छ; हिन्दुस्तानका ठुला फिल्म स्टार आमिर खान र सलमान खान पनि, जमुना पारको नम्बर छ अर्केस्ट्रा ‘चकचक धूम’ का प्रोप्राइटर डायमन्ड राजा पनि, अनि सायद तपाईं र हामी पनि।
सुनिल ग्रोभरको नजर आम मानिसहरूमा पनि रहन्छ र उनीहरू कसरी उनको अभिनयको निशाना बन्न सक्छन् भन्ने कुरा सन् २००८ को त्यो रेडियो शोबाट थाहा हुन्छ, जसमा उनी सुदर्शन अर्थात् ‘सुड’ नामक चरित्र निर्वाह गर्थे र कलेजका विद्यार्थीहरूबिच निकै लोकप्रिय थिए।
एउटा अन्तर्वार्तामा ग्रोभर बताउँछन्, रेडियो मिर्चीमा उनले निर्वाह गरेको ‘सुड’ को चरित्रले नै उनलाई पहिलो पटक पहिचान दिलाएको थियो।
उनका अनुसार कसरी एउटा काल्पनिक चुट्किलाको किताब ‘हँसी के फव्वारे’ बाट निकै सपाट आवाजमा जोक पढ्ने सुडको चरित्र उनकै सिर्जना थियो।
त्यसबेला रेडियो मिर्चीका नेसनल क्रिएटिभ हेड रहेका रन्जित मडगावकरले ग्रोभरसँग मिलेर यस आइडियालाई मूर्तरूप दिने काम गरेका थिए।
बीबीसीसँगको कुराकानीमा मडगावकर बताउँछन्, कसरी ग्रोभरको मुख्य विशेषता उनको सूक्ष्म अवलोकन हो।
हरेक बिहीबार चिया पसलमा ‘सुड’ को स्क्रिप्टबारे कुरा गर्ने क्रममा मडगावकरले पाउँथे, ग्रोभर कसरी कुनै व्यक्तिको सूक्ष्मभन्दा सूक्ष्म हाउभाउलाई पनि ध्यान दिएर हेर्थे। उनी कसरी चिया अर्डर गर्छन्, कसरी घडी हेर्छन्, कसरी आफ्नो घर-परिवारको कुरा गर्छन्, कुनै पनि कुरा उनको नजरबाट छुट्दैन थियो। अनि मानौँ एउटा स्विच अन गर्न मात्र ढिला हुन्थ्यो, ग्रोभर ग्रोभर नरहेर त्यही चरित्र बनिदिन्थे।
ग्रोभरको सुरुवाती दिनदेखि अहिलेसम्मको उनको यात्रालाई नजिकबाट नियालेका मडगावकर भन्छन्, ‘कतै न कतै उनलाई थाहा थियो कि उनको यो साथीले यस्तै गर्नेछ, किनकि मानिसभित्र लुकेका चरित्रहरूलाई बाहिर निकाल्न ग्रोभरलाई स्वाभाविक रूपमै आउँछ।’
सायद त्यसैले सुनिल ग्रोभरको इन्स्टाग्राम आईडी छ @whosunilgrover अर्थात् को हुन् सुनिल ग्रोभर?