×

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको सातौँ प्रदेशसभा मंगलबार मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले उद्घाटन गरेका छन्। कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ आर्थिक सम्भावनाहरू पहिचान गर्न तथा लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए।

उनले निजी क्षेत्रलाई सशक्त बनाउन नीति–नियममा आवश्यक सहजीकरण गरिने र प्रदेश सरकार सर्वदाका लागि सहयोग गर्न तयार रहेको स्पष्ट पारे। नेउवा संघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले प्रदेशलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यसहित महासङ्घ निरन्तर सक्रिय रहेको बताए।

उद्घाटन समारोहमा प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल, विभिन्न जिल्लाका उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। समारोहमा ‘मधेसु’ नामक पुस्तकको विमोचन गर्नुका साथै वर्षभर उत्कृष्ट कार्य गर्ने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान समेत प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन सञ्जय साहले गरेका थिए।

यसै अवसरमा यात्रा डेलीका अध्यक्ष राम सर्राफलाई विशेष सम्मान प्रदान गरिएको छ। जनकपुरमा सम्पन्न प्रदेशसभामा मुख्यमन्त्री कृष्णप्रसाद यादवले सर्राफलाई सञ्चार क्षेत्रको विकासमा योगदान तथा उद्योग–व्यापारसम्बन्धी समाचार प्रकाशनमा सक्रिय भूमिकाको कदर गर्दै सम्मानपत्र प्रदान गरेका हुन्।

Back to top