×

वीरगञ्ज। नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता कृष पटेलले बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शैक्षिक संस्थाबाट राजनीतिक विद्यार्थी संगठन हटाउने योजना प्रति कडा विरोध जनाएका छन्। उनले यस्तो निर्णयलाई विद्यार्थीहरूको संवैधानिक स्वतन्त्रतामाथि प्रहारको रुपमा मूल्याङ्कन गरेका छन्।

नेता पटेलले पछिल्लो समय 'जेन-जी' युवाहरूले गरेको आन्दोलनलाई देशको इतिहासकै महत्वपूर्ण मोड भएको उल्लेख गर्दै, आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्। "भ्रष्टाचार र बेरोजगारीविरुद्धको आन्दोलनमा ज्यान आहुति दिने सहिदहरूको सपना न्यायपूर्ण र पारदर्शी नेपाल बनाउने थियो, जसलाई हामी कहिल्यै भुल्न सक्दैनौं," उनले भने।

पटेलले नयाँ सरकारसँग जनताको ठूलो आशा रहेको भए पनि विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाउने कदम चिन्ताजनक रहेको बताए। उनले विद्यार्थी संगठनहरूको ऐतिहासिक भूमिका स्मरण गराउँदै भने, "विद्यार्थी संगठनहरूलाई समाप्त गर्ने होइन, बरु यसमा देखिएका विकृतिहरूलाई सुधार गर्ने आवश्यकता छ।"

साथै, उनले हाल आफूलाई "जेन-जी नेता" दाबी गर्ने र समाजमा अराजकता, धम्की र हिंसा फैलाउने प्रवृत्तिका व्यक्तिहरूको कडा आलोचना पनि गरे। "लोकतन्त्रमा सबैलाई अभिव्यक्तिको स्वतन्त्रता छ, तर अराजकता, धम्की र हिंसा कुनै पनि हालतमा स्वीकार्य छैन," उनले स्पष्ट पारे।

नेता पटेलले सरकारलाई जनताको विश्वास जित्न हतारमा स्वेच्छाचारी निर्णय नगरी 'संवाद र सहकार्य' को बाटो अपनाउन सुझाव दिएका छन्। उनले सम्पूर्ण नागरिकलाई सहिदको बलिदान सम्झेर जिम्मेवार बन्न, लोकतन्त्रको रक्षा गर्न र देशलाई सही दिशामा अगाडि बढाउन एकजुट हुन अपिल पनि गरे।

Back to top