वीरगञ्ज । नेकपा एमाले पर्साले बुधबार टाउन हलमा सम्पन्न जिल्ला स्तरीय भेलाबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै उनको तत्काल रिहाइ गर्न सरकारसमक्ष कडा माग गरेको छ।
भेलामा सहभागी स्थानीय नेताहरूले वर्तमान सरकारले प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाए। उनीहरूका अनुसार गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यविपरीत कदम हो।
भेलामा वक्ताहरूले संगठनभित्र देखिएका कमीकमजोरी सुधार्नुपर्ने र नेतृत्वको निर्देशनअनुसार पार्टी पंक्तिलाई सुदृढ रूपमा परिचालन गर्नुपर्ने धारणा राखे। एमाले पर्साका नेता रुपेश पाण्डेले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै, “निर्देशन नमान्ने नेतामाथि कारबाही नगरेसम्म विकृति हट्न सक्दैन,” भने। उनले पार्टीको हरेक आन्दोलनमा टिकट पाएर चुनाव लडेका नेता, मेयर तथा वडा अध्यक्षहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्नुपर्ने माग पनि राखे।
जिल्ला कमिटी अध्यक्ष डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्यहरू प्रभु हजरा, निर्मला देवकोटा, प्रदेश उपाध्यक्ष बिचारी प्रसाद यादव, जालिम मियाँ, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रमोद जयसवाल, जन्नत अन्सारी, जिल्ला सचिव महेश दास, मानदेव हजरा, सञ्जु छतकुलीसहित दर्जनौँ नेताहरूले मन्तव्य राखेका थिए।
कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रधुम्न चौहान, पर्सागढीका मेयर गोकर्ण पाठक, बहुदरमाई नगरपालिका मेयर सिघासन साह तेली, उपमेयर सुष्मा कुशवाहा, वीरगञ्ज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली, शिवजी गुप्ता, बिना शर्मा, शिव पटेल, अनिल हजरा लगायतको उपस्थिति उल्लेख्य थियो। कार्यक्रमको सहजीकरण सुन्दर कुर्मीले गरेका थिए।
ओली र लेखकको तत्काल रिहाइको माग, प्रतिशोधपूर्ण राजनीति बन्द गर्न सरकारलाई चेतावनी, पार्टीभित्रका कमजोरी हटाउँदै संगठन बलियो बनाउने प्रतिवद्धता, आन्दोलनमा नेताकर्मचारीको अनिवार्य सहभागिता सुनिश्चित गर्ने प्रस्ताव एमाले पर्साको भेला पछिल्लो राजनीतिक परिस्थिति र पार्टी नेतृत्वमाथिको कारबाहीबारे संगठनभित्र बढ्दो असन्तुष्टि उजागर गर्ने महत्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा अर्थ्याइएको छ।