×

लेबनानमा इजरायलले सशस्त्र समूह हिजबुल्लाहमाथि गरेको भीषण आक्रमणको प्रतिक्रियास्वरूप इरानले होर्मुज जलमार्ग पुनः बन्द गरेको छ। यसले गर्दा एक महिनाभन्दा लामो युद्ध अन्त्य गर्न गरिएको अत्यन्तै नाजुक युद्धविराम सम्झौताको भविष्यमाथि अन्योल पैदा भएको छ।

बुधबार इजरायलले बेरुतका व्यापारिक र आवासीय क्षेत्रहरूमा आक्रमण तीव्र पार्दा १८२ जनाको मृत्यु भएको छ। यो इजरायल–हिजबुल्लाह युद्धकै सबैभन्दा घातक दिन सावित भएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यस सम्झौतालाई नाजुक भनेका थिए, जुन अहिले भत्किने खतरामा छ। ह्वाइट हाउसले इरानलाई तत्काल जलमार्ग खोल्न माग गरेको छ।

इरानको आरोपः अमेरिकाले सर्त उल्लंघन गर्‍यो
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले वासिङ्टनले १० बुँदे सर्तमध्ये तीनवटा उल्लंघन गरेको भन्दै आगामी वार्ता तर्कहीन रहेको बताए। उनले हिजबुल्लाहमाथि इजरायलको निरन्तर आक्रमण भएको, युद्धविराम लागु भएपछि इरानी आकाशमा ड्रोन घुसपैठ भएको र इरानको युरेनियम संवर्धन क्षमतालाई अन्तिम सम्झौतामा मान्यता दिन अमेरिकाले अस्वीकार गरेको बताएका छन्।

इरानी विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा युद्ध अन्त्य हुनुपनि युद्धविरामकै हिस्सा भएको दाबी गरे। तर, राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने यो सम्झौताले लेबनानलाई नसमेट्ने बताएका छन्।

रक्षासचिव पिट हेगसेथले अमेरिकी र इजरायली सेनाले ठूलो सैन्य विजय हासिल गरेको र इरानी सेना अब खतराको रूपमा नरहेको बताए। उता, इरानी सेनाले भने आफूले अमेरिका–इजरायललाई आफ्ना सर्तहरू मान्न र आत्मसमर्पण गर्न बाध्य पारेको दाबी गरेको छ।

Back to top