बारा । जितपुर सिमरा उपमहानगरपालिका–१३ पोतामा जारी पाँचौँ पुरुष खुला नकआउट भलिबल प्रतियोगिताको दोस्रो दिन सेमिफाइनलसहित पाँच खेल सम्पन्न भएका छन्। सगरमाथा युवा समाज क्लबको आयोजनामा वडा कार्यालय खेलमैदानमा जारी प्रतियोगितामा विभिन्न जिल्लाका टोलीहरूले प्रतिस्पर्धा गरेका छन्।
दिनकै पहिलो खेलमा धनुषा र जगवाबीच प्रतिस्पर्धा हुँदा जगवा विजयी भयो। दोस्रो खेलमा आयोजक चितवनले महोत्तरीलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गर्यो। तेस्रो खेलमा सर्लाहीलाई हराउँदै गुल्मी विजयी घोषित भयो।
सेमिफाइनल चरणमा आयोजक पोता र चितवनबीच भएको प्रतिस्पर्धामा चितवनले शानदार जित हात पार्दै फाइनलमा स्थान सुरक्षित गर्यो। दोस्रो सेमिफाइनलमा जगवामाथि विजय निकाल्दै गुल्मी फाइनलमा पुगेको हो।
अब फाइनल खेल भोलि दिउँसो १ बजे हुने आयोजकले जनाएका छन्।
प्रतियोगितामा प्रथम हुने टोलीलाई १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।
स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै उनीहरूको प्रतिभा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।