नासाको बहुप्रतिक्षित आर्टेमिस-२ चन्द्रमिसनका अन्तरिक्ष यात्रीहरू चन्द्रमाको अत्यन्त नजिक पुगेर अन्तरिक्षयानबाटै पूर्ण सूर्यग्रहणको दृश्य अवलोकन गरेपश्चात् अब पृथ्वी फर्किने क्रममा रहेका छन्।
यस चन्द्र अभियानमा सहभागी अन्तरिक्ष यात्रीहरू शनिबार बिहान पृथ्वीमा अवतरण गर्नेछन् ।
मिसनका कमाण्डर रेड वाइजम्यानका अनुसार ओरियन अन्तरिक्षयानका चालक दलले यस्ता दृश्यहरू देखेका छन् जुन आजसम्म कुनै पनि मानिसले देखेका थिएनन् ।
त्यस्तै आर्टेमिस मिसनका पाइलट भिक्टर ग्लोभरले आफूहरूले देखेको दृश्य बयान गर्नका लागि शब्द नै नभएको बताएका छन् ।
सो यात्राका क्रममा अन्तरिक्षयानले पृथ्वीबाट करिब २ लाख ५२ हजार ७५६ माइल अर्थात् ४ लाख ६ हजार ७७१ किलोमिटर दूरी पार गरेको थियो । यो भनेको कुनै पनि मानिसले अन्तरिक्षमा तय गरेको अहिलेसम्मकै सबैभन्दा लामो दूरी हो ।
चन्द्रमाको पछाडि पट्टिको भागमा पुगेपछि अन्तरिक्ष यात्री र नासाबीच सम्पर्क विच्छेद भएको थियो । त्यसरी करिब ४० मिनेटसम्म सम्पर्क टुट्ने कुरा पहिले नै जानकारी थियो ।
सम्पर्क पुनः स्थापित भएपछि मिशन विशेषज्ञ क्रिस्टिना कोचले अन्तरिक्षयानबाट प्रतिक्रिया दिँदै भनिन्- पृथ्वीबाट फेरि आवाज सुन्न पाउँदा अत्यन्तै अद्भूत महसुस भयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अन्तरिक्ष यात्रीहरूसँग प्रत्यक्ष संवाद गरेका थिए । ट्रम्पले भनेका थिए, ;तपाईंहरूले इतिहास रच्नुभएको छ र सम्पूर्ण अमेरिकालाई गर्व महसुस गराउनुभएको छ ।’
साथै उनले अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीमा फर्केसँगै ह्वाइटहाउसमा आउन निम्तो समेत दिए ।
अन्तरिक्षयात्रीहरू अमेरिकाको पश्चिमी तट नजिक रहेको प्रशान्त महासागरमा अवतरण गर्ने अपेक्षा गरिएको छ।
अन्तरिक्ष यात्रीहरू कति सुरक्षित छन् ?
नासाका एक अवकासप्राप्त अन्तरिक्ष यात्री तथा इन्टरनेसनल स्पेस स्टेसनका कमाण्डर समेत रहिसकेका टेरी भिर्ट्सले चिन्ताजनक तर यथार्थपरक धारणा व्यक्त गरेका छन् ।
उनका अनुसार यस मिसनमा अन्तरिक्षयानका चालक दलले चन्द्रमाको गुरुत्वाकर्षण शक्तिको प्रयोग गर्दै त्यसको परिक्रमा गर्नुपरेको थियो ।
उनका अनुसार आर्टेमिस मिसनका अन्तरिक्षयात्रीहरू अन्तरिक्षमा अत्यन्त टाढा छन् । यदि उनीहरूको ज्यानमा कुनै खतरा आयो भने उनीहरूलाई बचाउने कुनै उपाय छैन ।
टेरीका अनुसार अन्तरिक्ष यात्रीहरूले अत्यन्त शक्तिशाली विकिरणको सामना गरिरहेका छन् । अनि केवल केही मिलिमिटर बाक्लो एल्युमिनियमको तह बाहिर उनीहरूका लागि तत्काल मृत्युको जोखिम मडारिरहेको हुन्छ।
उनी भन्छन्, ‘पूरै १० दिनको मिशनलाई पूर्णरूपमा सुरक्षित भन्न सकिँदैन । तर अहिलेसम्म कुनै असामान्य घटना भएको छैन । आज त केवल यति भयो कि यो क्याप्सुल चन्द्रमाको नजिकबाट गुज्रियो ।’
उनका अनुसार अन्तरिक्षयानले चन्द्रमाको गुरुत्वाकर्षण प्रयोग गरेर आफ्नो उडानको दिशा करिब १८० डिग्रीले मोडेको छ । जसले क्याप्सुललाई पुनः पृथ्वीको दिशामा फर्काइरहेको छ ।
हल्का ठठ्टा गर्दै उनी भन्छन्, ‘यहाँ त आइज्याक न्युटनले नै कमाण्ड सम्हालिरहेका छन् । अब गुरुत्वाकर्षणले नै क्याप्सुललाई बाटो देखाइरहेको छ ।’
नासाकी विज्ञान प्रमुख डाक्टर निकोला फक्सका अनुसार अन्तरिक्ष यात्रीहरूले मिशनको यस महत्वपूर्ण चरणका लागि धेरै वर्षसम्म तयारी गरेका थिए। उनीहरूले नासाको टोलीसँग मिलेर चन्द्र विज्ञानको गहिरो अध्ययन गरेका थिए।
अन्तरिक्षयात्रीहरूले निकै उत्कृष्ट काम गरेको र चन्द्रमासम्बन्धी धेरै महत्वपूर्ण जानकारीहरू प्रदान गरेको उनी बताउँछिन् ।
आर्टेमिस-२ मिसनका खास पक्षहरू
आर्टेमिस–२ मिशनको रकेटले केन्नेडी स्पेस सेन्टरबाट गत अप्रिल १ मा उडान भरेको थियो । उक्त ऐतिहासिक मिशनमा तीन अमेरिकी अन्तरिक्ष यात्रीहरू रेड वाइजम्यान, क्रिस्टिना कोच र भिक्टर ग्लोभरका साथै एक क्यानेडियन अन्तरिक्ष यात्री जेरेमी ह्यान्सेन पनि सहभागी छन्।
नासाको आर्टेमिस कार्यक्रम तयार पार्न वर्षौंको मेहनत लागेको छ । हजारौं वैज्ञानिक र प्राविधिक यसमा संलग्न रहेका छन् । यसमा अहिलेसम्म करिब ९३ अर्ब अमेरिकी डलर खर्च भइसकेको छ।
यसअघि करिब ५० वर्षअघि नासाको अपोलो कार्यक्रमबाट अमेरिकाले इतिहास रचेको थियो । सोही अन्तरिक्ष अभियान अन्तर्गत पहिलोपटक मानवले चन्द्रमामा पाइला टेकेको थियो।
चन्द्रमा : सम्भावनाले भरिपूर्ण
चन्द्रमाको सतह सुख्खा, धूलोयुक्त र बाँझो देखिए पनि वास्तविकता फरक रहेको वैज्ञानिकहरू बताउँछन् । बेलायतको नेचुरल हिस्ट्री म्युजिमयकी ग्रह वैज्ञानिक सारा रसेलका अनुसार चन्द्रमामा उनै तत्वहरू छन् जुन हामी पृथ्वीमा पनि पाउँछौं ।
उनका अनुसार रेयर अर्थ एलिमेन्ट्स अर्थात् दुर्लभ धातुहरू जो पृथ्वीमा निकै सीमित मात्रामा पाइन्छन् ती चिजहरु चन्द्रमाका केही क्षेत्रमा पर्याप्त मात्रामा हुन सक्छन् । त्यस्तै फलाम र टाइटेनियमजस्ता धातुहरू पनि त्यहाँ पाइन्छन् । साथै हिलियम पनि चन्द्रमामा रहेको छ जसको प्रयोग सुपरकन्डक्टरदेखि मेडिकल उपकरणसम्म विभिन्न क्षेत्रमा गरिन्छ ।
तर चन्द्रमामा सबैभन्दा चासोको विषय भनेको पानी नै हो । रसेलका अनुसार चन्द्रमाका केही खनिजहरूमा पानी थुनिएको छ र ध्रुवीय क्षेत्रहरूमा उल्लेखनीय मात्रामा पानी हुन सक्छ । उनका अनुसार चन्द्रमामा यस्ता खाल्डाहरू छन् जहाँ सधै छायाँ रहने भएकाले त्यहाँ बरफ जमेको हुनसक्ने सम्भावना धेरै छ ।
यदि मानवले चन्द्रमामा बसोबास गर्ने योजना बनायो भने पानी अत्यन्त आवश्यक स्रोत हुनेछ । पानी पिउन मात्र होइन यसलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरेर सास फेर्नका लागि हावा उत्पादन गर्न र अन्तरिक्षयानका लागि इन्धन तयार गर्न पनि प्रयोग गर्न सकिन्छ ।
नासाको दीर्घकालीन लक्ष्य अब मंगल ग्रहमा मानव पठाउने रहेको छ । जसका लागि सन् २०३० को दशकको लक्ष्य राखिएको छ । तर प्राविधिक चुनौतीहरूलाई हेर्दा यो लक्ष्य निकै महत्वाकांक्षी मानिन्छ।
यद्यपि कुनै पनि ठूलो यात्राको सुरुवात कतै न कतैबाट गर्नैपर्छ । अमेरिकाले त्यसको सुरुवात चन्द्रमाबाट गर्ने निर्णय गरेको छ । त्यसैले आर्टेमिस-२ मिशनलाई अत्यन्त महत्वपूर्ण मानिएको छ ।
बीबीसीबाट