वीरगञ्ज । पर्सा जिल्लाबाट निर्वाचित तीन जना प्रतिनिधिसभा सदस्यहरू विभिन्न संसदीय विषयगत समितिमा मनोनित भएका छन्।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धि प्रसाद पन्त र क्षेत्र नम्बर ४ बाट निर्वाचित टेक बहादुर शाक्य उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यमा मनोनित भएका हुन्।
त्यसैगरी, पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सुशील कुमार कानु कानून, न्याय तथा मानवअधिकार समितिको सदस्यमा मनोनित भएका छन्।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको आठ दिनमै सबै संसदीय समितिहरू गठन गरिएको छ। प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समिति तथा दुई वटा संयुक्त समिति रहेका छन् भने राष्ट्रिय सभाअन्तर्गत चार वटा समिति यसअघि नै गठन भइसकेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा समितिहरू गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरी सभाले स्वीकृत गरेको थियो। संघीय संसद सचिवालयले प्रकाशित गरेको नामावलीअनुसार पन्त र शाक्य उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा समावेश भएका हुन्।