×

मुम्बई । बलिउड सुपरस्टार सलमान खानको बहुप्रतीक्षित फिल्म 'मातृभूमि' प्रदर्शनअघि नै विभिन्न विवाद र परिवर्तनका कारण चर्चामा रहेको छ। सुरुमा 'ब्याटल अफ गलवान' नाम राखिएको यस फिल्मको शीर्षक परिवर्तन गरेर 'मातृभूमि' बनाइए पनि अहिले यसको कथावस्तुमा ठुलो फेरबदल गरिएको खबर सार्वजनिक भएको हो। 

भारतीय रक्षा मन्त्रालयले व्यक्त गरेको चासो र आपत्तिका कारण फिल्मको करिब ४० प्रतिशत हिस्सा पुनः छायाङ्कन गरिएको छ। सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भएको भारत–चीन सैन्य झडपको पृष्ठभूमिमा आधारित यस फिल्मले दुई देशको संवेदनशील कूटनीतिक सम्बन्धमा असर पार्न सक्ने भन्दै मन्त्रालयले केही दृश्यहरूमा संशोधन गर्न सुझाव दिएको थियो। 

हाल भारत र चीनबीचको सम्बन्ध सुधारोन्मुख रहेको अवस्थामा फिल्ममा सिधै ‘चीन’ को नाम उल्लेख नगर्न निर्माताहरूलाई सल्लाह दिइएको छ। निर्देशक अपूर्व लाखियाले मन्त्रालयको निर्देशन पालना गर्दै फिल्मबाट छिमेकी देशको प्रत्यक्ष सन्दर्भ हटाएका छन्।

पछिल्लो रिपोर्ट अनुसार, फिल्मलाई अब सत्य घटनामा आधारितभन्दा पनि ‘काल्पनिक कथा’ को स्वरूप दिइएको छ। पुनः छायाङ्कनका क्रममा फिल्ममा केही नयाँ दृश्यहरू थपिनुका साथै पात्रहरूको भावनात्मक पाटो र ब्याकस्टोरीलाई थप बलियो बनाइएको छ। मन्त्रालयलाई बुझाइएको फिल्मको नयाँ कटमा यी सबै परिवर्तनहरू समावेश गरिएको दाबी गरिएको छ।

यति ठुलो फेरबदल र लगानीका बाबजुद मातृभूमिको प्रदर्शनको बाटो अझै पूर्ण रूपमा खुल्ला भइसकेको छैन। रक्षा मन्त्रालयले फिल्मका केही विषयवस्तुमा अझै पनि आशङ्का व्यक्त गरिरहेका कारण यसको रिलिज डेट अझै अन्योलमा छ।

Back to top