×

वीरगञ्ज । हर्क साम्पाङ ले सरकारमा रहेका पदाधिकारीहरूको सार्वजनिक सम्पत्तिसँगै त्यसको स्रोतसमेत अनिवार्य रूपमा खुलाउन माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सांसद साम्पाङले केवल सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्याप्त नभएको बताएका हुन्। उनले सम्पत्तिको स्रोत नखुलेको अवस्थामा त्यसप्रति स्वाभाविक रूपमा शंका उत्पन्न हुने उल्लेख गरे।

‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो, अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो हुन्छ,’ उनले भनेका छन्। स्रोतबिनाको सम्पत्ति देखिँदा भ्रष्टाचारको आशंका बढ्ने भएकाले स्रोत स्पष्ट पार्नुपर्नेमा उनले जोड दिएका छन्।

आइतबार मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। सार्वजनिक विवरणअनुसार मन्त्रीहरूको नाममा करोडौँ नगद मौज्दात, घरजग्गा, सेयर लगानी तथा सुनचाँदी रहेको देखिएको छ। केही मन्त्रीहरूले बाख्रा, कुखुरा र कुकुरसमेत सम्पत्तिका रूपमा उल्लेख गरेका छन्।

साम्पाङको यस धारणा सार्वजनिक भएसँगै सम्पत्ति पारदर्शिता र स्रोत खुलाउने विषय पुनः चर्चामा आएको छ।

Back to top