मुम्बई । रणवीर सिंह स्टार फिल्म ‘धुरन्धर २’ ले बक्स अफिसमा आफ्नो बलियो पकड कायम राख्दै अगाडि बढ्न सफल भएको छ । प्रदर्शनको चौथो हप्तासम्म पनि फिल्म दर्शकहरूलाई हलसम्म तान्न सफल देखिएको छ भने कमाइको रफ्तारमा पनि कायमै छ ।
फिल्मको भारतको कुल कलेक्सन १०६७.२७ करोड भारु पुगेको छ । विश्वव्यापी कलेक्सनमा पनि फिल्मले नयाँ कीर्तिमानी व्यापार गरिरहेको छ । २४ दिनको अवधिमा ‘धुरन्धर २’ को वर्ल्ड वाइड कलेक्सन १६५८.६२ करोड भारु पुगेको छ ।
शुक्रबार नयाँ फिल्म ‘डकैत’ रिलिजपछि भने फिल्मको व्यावसायिक रफ्तारमा केही फरक पर्ने अनुमान पहिले गरिएको थियो । तर यो फिल्मको आगमनले ‘धुरन्धर २’ को व्यापारमा खासै असर पारेको देखिएन । ‘डकैत’ ले आफ्नो दोस्रो दिन (शनिवार) ४.५१ करोड भारु मात्रै सङ्कलन गर्न सकेको छ, जुन ‘धुरन्धर २’ को तुलनामा निकै कम हो ।
‘धुरन्धर २’ आदित्य धर निर्देशित स्पाई–थ्रिलर फिल्म हो । फिल्ममा रणवीर सिंह, सञ्जय दत्त, आर माधवन, अर्जुन रामपाल, राकेश बेदी, सारा अर्जुन र दानिश पंडोर लगायतका कलाकारको अभिनय छ ।