सिरहा । सिरहाको कल्याणपुर नगरपालिकामा लाइट जडानको नाममा अनियमितता भएको आरोप लगाउँदै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्थानीय प्रशासनमा उजुरी दिएका छन्।
नगरपालिका–११ स्थित दुर्गा मन्दिरमा लाइट जडान कार्य सम्पन्न नै नगरी अमित सप्लायर्सलाई ७ लाख ९१ हजार ३७४ रुपैयाँ भुक्तानी गरिएको आरोप स्थानीयले लगाएका छन्। आर्थिक वर्ष ०८२/८३ को बजेटअन्तर्गत १० लाख रुपैयाँको योजना कागजी प्रक्रिया मिलाएर कार्यान्वयन नगरी रकम अपचलन गरिएको दाबी उजुरीमा गरिएको छ।
स्थानीयका अनुसार सप्लायर्सले लाइट जडानसम्बन्धी सम्पूर्ण काम नगरी सामग्री खरिदको नाममा मात्रै भुक्तानी लिएको हो। सूचना माग गरेपछि मात्र काम सम्पन्न नगरी रकम भुक्तानी गरिएको पुष्टि भएको उनीहरूको भनाइ छ।
यस विषयमा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित कर्मचारीलाई झिकाएर यथार्थ बुझ्न निर्देशन दिएको छ भने विस्तृत प्रतिवेदन तयार पार्ने प्रक्रिया अघि बढाइएको छ।
नगरपालिका पक्षले भने सामग्री खरिद भइसकेको र मन्दिर निर्माणको काम नसकिएकाले जडान कार्य रोकिएको दाबी गरेको छ। यता सप्लायर्सले भने सम्झौताअनुसार काम सम्पन्न गरिसकेको बताएको छ।
स्थानीयवासीले सरकारी रकम अपचलनमा संलग्न जोसुकै भए पनि छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका छन्।