वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चैत महिनाभरको प्रगति विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण तथा फैसला कार्यान्वयनमा उल्लेख्य सफलता हासिल गरेको जनाएको छ।
प्रहरीका अनुसार उक्त अवधिमा कुल १५२ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ५८ वटा संगठित तथा आर्थिक अपराधसम्बन्धी रहेका छन्। विभिन्न घटनामा संलग्न १०२ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले सक्रियता देखाउँदै फरार रहेका ६८ जना प्रतिवादीलाई पक्राउ गरी १३ वर्ष ३ महिना २५ दिन कैद भुक्तान गराएको छ भने १ करोड २३ लाख २० हजार ७४८ रुपैयाँ जरिवाना असुल गरेको छ।
राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ५ करोड ४० लाख ४२ हजार ४०५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। भन्सार छलीका सामानमध्ये १ लाख ६४ हजार ५३० रुपैयाँ मूल्य बराबरका सामग्रीसहित एक जना पक्राउ परेका छन्। त्यस्तै अवैध वन पैदावारतर्फ २५ क्यूविक फिट सालको काठ र दुईवटा साइकल बरामद गरी १ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।
लागूऔषध नियन्त्रणतर्फ ७ वटा मुद्दा दर्ता गरी १३ जनालाई पक्राउ गरिएको छ। सो क्रममा १६४ केजी ९६ ग्राम गाँजा, १.८५ ग्राम ब्राउन सुगर र ५१ हजार ८०० वटा विभिन्न औषधिजन्य लागू पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। साथै ३ वटा अवैध हातहतियार र ३०० ग्राम बारुद समेत फेला परेको छ।
सवारी दुर्घटनातर्फ चैत महिनामा ७८ वटा दुर्घटना भएका छन्, जसमा २ जनाको मृत्यु र १२१ जना घाइते भएका छन्। ट्राफिक कारबाहीमा ९०९ सवारीसाधनलाई कारबाही गरी ११ लाख ५६ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ।
घरेलु हिंसासम्बन्धी ६७ वटा उजुरीमध्ये ६४ वटामा मिलापत्र गरिएको छ। साथै लागूऔषध, आत्महत्या तथा ट्राफिक सचेतना सम्बन्धी १४२ वटा कार्यक्रम सञ्चालन गरी ३ हजार ३५५ जनालाई लाभान्वित गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै CCTV निगरानी, सामाजिक सञ्जाल अनुगमन र नियमित गस्तीमार्फत जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाइएको छ।