वीरगञ्ज । भारतबाट अवैध रूपमा नेपाल भित्रिने पङ्गस माछाको आयात तथा बिक्री–वितरण नियन्त्रण गर्न पशु सेवा विभागले सीमा क्षेत्रका मातहतका निकायलाई कडा निर्देशन जारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीको निर्देशनपछि विभागले सीमा नाकामा कडाइ गर्दै बजार अनुगमनलाई तीव्र बनाएको हो।
मोरङ, सुनसरी, झापा र पर्साका व्यावसायिक माछापालक किसानहरूको पटक–पटकको गुनासोपछि विभागले विशेष सक्रियता देखाएको जनाएको छ। विभागका अनुसार सुनसरीको अमडुवा र सिक्ती, मोरङको दुमरिया र धनपालथान, झापाको काँकडभिट्टा तथा पर्साको वीरगञ्ज (सिर्सिया) लगायतका नाकाबाट भइरहेको अवैध माछा तस्करी रोक्न सुरक्षा निकायसँगको समन्वय थप मजबुत बनाइएको छ।
अवैध रूपमा भित्रिएका माछाहरू विराटनगर, इटहरी, इनरुवा र धरान जस्ता सहरका बजारमा निर्वाध रूपमा बिक्री भइरहेको सूचनापछि पशु क्वारेन्टाइन कार्यालयहरूलाई स्थानीय प्रशासन र नेपाल प्रहरीसँग समन्वय गरी तत्काल स्थलगत अनुगमन गर्न निर्देशन दिइएको छ।
विभागले सीमा नाकाको अवस्था र अनुगमनको प्रगतिबारे विस्तृत प्रतिवेदन तीन दिनभित्र पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सरकारको यो कदमबाट स्वदेशी मत्स्य व्यवसायीको लगानी सुरक्षित हुने र उपभोक्ताले गुणस्तरीय तथा स्वस्थ माछा उपभोग गर्न पाउने विश्वास लिइएको छ।