×

इन्धन ढुवानीको अत्यन्त संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज फेरि तनावको केन्द्र बनेको छ। इरानले जलमार्ग पुनः बन्द गरेको घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ।

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्स (आईआरजीसी) नौसेनाले शनिबार सार्वजनिक गरेको वक्तव्यमा स्ट्रेट अफ होर्मुजबाट गुज्रिन खोज्ने कुनैपनि जहाजलाई ‘निशाना बनाइने’ चेतावनी दिएको छ।

फारसको खाडी र ओमान सागरबाट हर्मुजतर्फ बढ्ने जहाजलाई शत्रुसँगको सहकार्य मानिने पनि इरानले स्पष्ट पारेको छ। पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानका प्रतिनिधिबीच भएको वार्तामा इरानले स्ट्रेट अफ होर्मुजको बाटो खुला गर्ने सहमति भएको थियो।

तर, लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी जारी रहने बताएका थिए। उनले इरानको युरेनियम अमेरिका लैजाने सहमति भएको दाबीसमेत गरेका थिए।

इरानले भने युरेनियम अमेरिका लैजाने सहमति भएको भनेर ट्रम्पले झुटो बोलेको टिप्पणी गरेको थियो। साथै नाकाबन्दी हट्नुपर्ने माग राखेको थियो।

वार्तामा सहमति भएको र इरानले अस्थायी रूपमा जलमार्ग खोल्दै सबै व्यावसायिक जहाजका लागि सुरक्षित रहेको जनाएको २४ घन्टा नबित्दै पुनः तनाव चुलिएको छ। सहमतिको खबरले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत घटेको थियो।

इरानका संसद् सभामुख तथा वार्ताकार मोहम्मद बाकर गालिबाफले टेलिभिजन अन्तर्वार्तामा स्ट्रेट अफ होर्मुज ‘इस्लामिक गणतन्त्रको नियन्त्रणमा रहेको’ दाबी गरेका छन्। उनले अमेरिकी नौसैनिक नाकाबन्दीलाई ‘अपरिपक्व र अज्ञानतापूर्ण निर्णय’ भन्दै आलोचना गरेका छन्।

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जलमार्ग बन्द गरेर ‘ब्ल्याकमेल’ गर्न नसक्ने चेतावनी दिएका छन्। उनले निर्धारित समयभित्र सहमति नभए युद्धविराम अन्त्य गरिने र अमेरिकी नाकाबन्दी यथावत् रहने बताएका छन्।

बेलायतको युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार शनिबार इरानले भारतका दुई व्यावसायिक जहाजमाथि गोली चलाएको थियो। भारतको विदेश मन्त्रालयले पनि भारतीय झण्डावाहक दुई जहाज ‘फायरिङ घटनामा’ परेको पुष्टि गरेको छ।

सो क्षेत्रमा रहेका अन्य केही जहाजहरुले पनि आईआरजीसी नौसेनाबाट रेडियोमार्फत चेतावनी सन्देश प्राप्त गरेको जनाइएको छ, जसमा जलडमरूमध्य हुँदै कुनैपनि जहाजलाई प्रवेश नदिइने उल्लेख गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानले स्ट्रेट अफ होर्मुजलाई दबाब र सन्देश दिने रणनीतिक माध्यमका रूपमा प्रयोग गरिरहेको देखिन्छ। वार्ता अनिश्चित बन्दै जाँदा इरानले आफ्नो प्रभाव देखाउन जलमार्गलाई बन्द गरेको विश्लेषण गरिएको छ।

विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा तनाव बढ्दा अन्तर्राष्ट्रिय बजार, विशेषतः ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ।

Back to top