×

मुम्बई । भारतीय क्रिकेट टोलीका स्पिनर युजवेन्द्र चहल र चर्चित स्पोर्ट्स एङ्कर शेफाली बग्गाबिचको अफेयरको हल्लाले यतिबेला सामाजिक सञ्जाल तातिरहेको छ । शेफालीको नाम चहलसँग जोडिन थालेपछि उनले अन्ततः यस विषयमा आफ्नो मौनता तोडेकी छन् ।

हालै एक पडकास्टमा कुरा गर्दै शेफालीले यी सबै हल्लाहरूलाई पूर्ण रूपमा अस्वीकार गरेकी छन् । मानिसहरूले कुनै पनि भेटघाटलाई निकै चाँडो गलत अर्थ लगाइदिने गरेकोमा उनले दुःख व्यक्त गरिन् ।

‘फिल्मीज्ञान’ को पडकास्टमा उनले आफू यस्ता झुटा खबरहरूबाट वाक्क भइसकेको बताउँदै मानिसहरूको सोच कति साँघुरो छ भन्ने कुराले आफूलाई अचम्मित बनाउने उल्लेख गरिन् । केही समयअघि यी दुईलाई सँगै डिनर गरिरहेको देखिएपछि उनीहरू प्रेम सम्बन्धमा रहेको अफवाह फैलिएको थियो, जसलाई शेफालीले स्पष्ट रूपमा अस्वीकार गरेकी छन् ।

अन्तर्वार्ताका क्रममा उनलाई भविष्यमा कुनै क्रिकेटरलाई नै आफ्नो जीवनसाथी बनाउने विचार छ कि छैन भनेर सोधिएको थियो । यसको जवाफमा उनले स्पष्ट रूपमा ‘छैन’ भनेकी छन् ।

क्रिकेट आफ्नो पेसा भएको र व्यक्तिगत जीवनलाई पेसागत जीवनसँग मिसाउन नचाहने भएकाले आफूले कहिल्यै कुनै क्रिकेटरसँग विवाह नगर्ने उनले दृढताका साथ बताइन् । यस्ता अफवाहले आफू र आफ्नो परिवारलाई कुनै असर नगर्ने किनकि सत्य के हो भन्ने सबैलाई थाहा भएको उनको भनाइ छ ।

जीवनसाथी कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा शेफालीले भारतीय टोलीका पूर्व कप्तान विराट कोहलीको उदाहरण दिएकी छन् । उनले विराट कोहली र अनुष्का शर्माको जोडी आफूलाई संसारकै ‘परफेक्ट’ लाग्ने बताउँदै आफूले पनि विराटको जस्तै व्यक्तित्व र प्रतिबद्धता भएको पुरुषको खोजीमा रहेको खुलासा गरिन् ।

स्पोर्ट्स एङ्करिङको क्षेत्रमा स्थापित नाम शेफाली बग्गाले चर्चित रियालिटी शो ‘बिग बोस १३’ मा सहभागी भएपछि निकै लोकप्रियता कमाएकी थिइन् । उनी धेरै ठुला क्रिकेट प्रतियोगिताहरूमा एङ्करिङ गरिसकेकी छन् र सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् ।

Back to top