नेपाल पत्रकार महासङ्घ पर्साले पत्रकार आचार संहिताको उल्लङ्घन गर्ने पत्रकार र सञ्चार गृह (मिडिया हाउस) लाई कारबाहीको चेतावनी दिएको छ ।
आइतबार पत्रकार महासङ्घ पर्सा शाखाले एक प्रेस विज्ञप्ति नै जारी गरेर पत्रकार आचार संहिता उल्लङ्घन गर्ने पत्रकार र सञ्चार गृह (मिडिया हाउस) लाई कारबाहीको चेतावनी दिएको हो ।
पर्सा जिल्लाबाट प्रकाशित तथा प्रसारित केही सञ्चारमाध्यम र केही पत्रकारहरूले समाचार सम्प्रेषणका क्रममा लगातार रूपमा पत्रकार आचारसंहिताका आधारभूत मान्यतालाई समेत बेवास्ता गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासङ्घ पर्साले जनाएको छ ।
सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल (फेसबुक, युट्युब) मार्फत सञ्चालित केही माध्यमहरूले सामाजिक सद्भाव, जबरजस्ती करणी, व्यक्तिको गोपनीयतालगायतका अति संवेदनशील विषयका समाचार सम्प्रेषण गर्दा गैर जिम्मेवार रूपमा प्रस्तुत भई आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको पाइएको महासङ्घको भनाई छ ।
समाचार सङ्कलन तथा प्रसारणका क्रममा न्यूनतम शिष्टता र सीमालाई समेत ख्याल नगरी अभद्र हरकतमा उत्रिएको पाइएको भन्दै महासङ्घले सञ्चारकर्मका नाममा भइरहेका यस्ता गतिविधिबाट समग्र सञ्चारक्षेत्रमाथि प्रश्न उठिरहेको जनाएको छ ।
यसबारेमा महासङ्घका पदाधिकारीले ती संस्था र व्यक्तिहरूलाई यसअघि समेत पटकपटक ध्यानाकर्षण गराउँदा पनि अटेर गरिएको भन्दै महासङ्घ पर्साले पत्रकार आचारसंहिता विपरीतका गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।
पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न अपिल गर्दै महासङ्घले आचारसंहिता विपरीत समाचार सम्प्रेषण गरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्ष स्वयंले वहन गर्नुपर्ने बताएको छ ।समाचार सङ्कलन तथा प्रसारण गर्दा पुनः आचारसंहिता उल्लङ्घन भएको पाइएमा महासङ्घ स्वयंले कारबाहीका लागि पहल गर्ने चेतावनी पनि दिएको छ ।