×

वीरगञ्ज । पर्सा प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजासहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार बिहान करिब ८:२० बजे पैदल सीमा पार गर्दै गरेका चार जनालाई प्रहरी चौकी इनरुवाको नियमित चेकिङ टोलीले शङ्काको आधारमा जाँच गर्दा गाँजा बरामद भएको हो ।

पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला वेतियाका ३५ वर्षीय सफि अहम्द, मझमलियाका ३३ वर्षीय विनय ठाकुर, नौराङावादका ३० वर्षीय मुकिम मियाँ र मिनाबजारका २८ वर्षीय महम्द एकवाल रहेका छन् ।

उनीहरूले गाँजालाई रातो प्लास्टिकमा पोको पारेर खैरो डोरीले बेरी पेट र छातीको भागमा लुकाई छिपाइ वीरगञ्जबाट भारतको रक्सौलतर्फ लैजाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–१६ स्थित शङ्कराचार्य गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतका अनुसार बरामद गाँजाको तौल ६ किलो १८ ग्राम रहेको छ ।

नियन्त्रणमा लिइएका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top