×

चेन्नई । दक्षिण भारतीय चलचित्रका सुपरस्टार तथा हालै राजनीतिमा होमिएका जोसेफ विजय र उनकी पत्नी संगीता सर्नलिङ्गमबिचको सम्बन्धविच्छेदको मुद्दा टुंगिन अझै केही समय लाग्ने भएको छ। चेन्नईको चेंगलपट्टूस्थित पारिवारिक अदालतमा हुन लागेको सुनुवाइलाई अदालतले आगामी जुन महिनाको मध्यसम्मका लागि सारेको हो।

एएनआईको रिपोर्टका अनुसार न्यायाधीश शशिकलाको इजलासमा चौथो नम्बरमा सूचीकृत यस मुद्दामा संक्षिप्त सुनुवाइ भएपछि अदालतले अर्को तारिख जुन १५ का लागि तोकेको हो। अदालतले आगामी सुनुवाइमा विजय र संगीता दुवैलाई व्यक्तिगत रूपमा उपस्थित हुन कडा निर्देशन समेत दिएको छ। 

विजयका वकिलले उनी हाल राजनीतिक गतिविधि र चुनावी प्रचारप्रसारमा व्यस्त रहेकाले व्यक्तिगत रूपमा उपस्थित हुन कठिनाइ हुने भन्दै भिडियो कन्फरेन्सिङमार्फत पेश हुन अनुमति मागेका थिए। तर अदालतले त्यसलाई स्वीकार नगरी भौतिक उपस्थितिलाई नै जोड दिएको छ।

सन् १९९९ मा विवाह बन्धनमा बाँधिएका विजय र संगीताका दुई सन्तान छन्। लामो समयसम्म दक्षिण भारतीय चलचित्र क्षेत्रको आदर्श जोडी मानिने उनीहरूबीचको विवाद त्यतिबेला सार्वजनिक भयो जब संगीताले सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गरिन्। संगीताले आपसी मतभेद र अन्य केही निजी कारणहरू खुलाउँदै कानुनी रूपमा छुट्टिन चाहेको उल्लेख गरेकी छिन्।

यो हाई-प्रोफाइल मुद्दामा प्रशंसक र सञ्चारमाध्यमको निकै चासो रहेको छ। विशेषगरी विजयले आफ्नो नयाँ राजनीतिक दल घोषणा गरेर सक्रिय राजनीतिमा प्रवेश गरेको समयमा उनको निजी जीवनको यो कानुनी लडाइँले थप चर्चा पाएको छ। 

Back to top