×

वीरगञ्ज । मधेस प्रदेश प्रहरी सङ्गठनभित्र गम्भीर आरोप–प्रत्यारोप र आन्तरिक खिचातानी तीव्र बन्दै गएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि र कथित आर्थिक लेनदेनसँग जोडिएका विषय सार्वजनिक हुन थालेपछि सङ्गठनभित्रै विवाद चर्किएको हो ।

प्रहरी स्रोतका अनुसार सीमा वारपार तस्करी सञ्चालन गर्ने व्यापारीसँगको अनुचित सम्बन्ध उजागर हुने अवस्था सिर्जना भएपछि त्यसबाट जोगिन कनिष्ठ कर्मचारीमाथि मधेसका डिआइजी गोविन्द थपलियाले कारबाही सिफारिस गरेको आरोप लागेको छ ।

जनकपुर क्षेत्रका कथित तस्कर राजीव महासेठसँगको ‘सेटिङ’ सार्वजनिक हुने त्रास बढेपछि डिआइजी थपलियाले वरिष्ठ सई सागर शम्शेर राणाविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढाएका हुन् ।

जानकी चौकी इन्चार्ज हुँदै जिल्ला प्रहरी कार्यालय धनुषामा क्राइम इन्चार्जका रूपमा कार्यरत रहेका राणालाई योजनाबद्ध रूपमा फसाउन खोजिएको डिआइजी थपलियामाथि आरोप लागेको हो । स्रोतका अनुसार थपलियाका निकट मानिने केही प्रहरी अधिकारीहरूले विभिन्न जालझेल र प्रपञ्च रच्दै राणालाई विवादमा तानेर उनीमाथि कारबाही गर्न लगाएका हुन् ।

करिब एक महिना अघि तस्कर महासेठसँग सम्बन्धित १५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरिएपछि प्रहरीभित्रै असन्तुष्टि बढेको र त्यसकै प्रतिशोध स्वरूप घटनाक्रम अघि बढाइएको बताइएको छ । यसबीच राणा र महासेठबीच भएको भनिएको अडियो संवाद सार्वजनिक भएको छ । अडिओमा राणाले आफूविरुद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै कुनै पनि अवैध गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका छन् ।

अडियो सार्वजनिक भएसँगै प्रदेश प्रहरी कार्यालय जनकपुरधामले डिआइजी थपलियालाई जोगाउन राणाविरुद्ध कारबाही सिफारिस गरेको छ ।

यता, केही अन्य प्रहरी अधिकारीहरूमाथि पनि अवैध असुली, काजमा बसेर प्रभाव विस्तार गर्ने तथा विभिन्न जिल्लाबाट रकम सङ्कलन गर्ने जस्ता आरोप लागेका छन् । पर्सा, सिराहा र सर्लाही क्षेत्रबाट समेत नियमित रूपमा रकम सङ्कलन गरी माथिल्लो तहसम्म पुर्‍याइने गरेको दाबी स्रोतले गरेका छन् ।

यसैबिच, प्रहरी सङ्गठनबाट अलग भएका एक पूर्व कर्मचारीले सङ्गठनभित्र आर्थिक अनियमितता र लेनदेनका तथ्य बाहिर आउन थालेपछि तल्लो तहका कर्मचारीलाई कारबाही गरेर उच्च तहका अधिकारीहरू जोगिँदै आएको आरोप लगाएका छन् ।

उता, प्रहरी प्रमुख थपलियाले भने आफूलाई अनावश्यक रूपमा बदनाम गर्न खोजिएको दाबी गर्दै सङ्गठनको अनुशासन कायम राख्न राणाविरुद्ध कारबाही सिफारिस गरिएको बताएका छन् ।

घटनाले प्रहरी सङ्गठनभित्रको पारदर्शिता, अनुशासन र जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको छ । अब प्रश्न उब्जिएको छ-के यो वास्तवमै भ्रष्टाचारविरुद्धको कारबाही हो, वा सत्य दबाउन निर्दोषलाई बलिको बोका बनाउने प्रयास ?

Back to top