×

वीरगञ्ज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार समाप्त हुने दुई हप्ताको युद्धविरामलाई थप लम्ब्याउने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार इरानसँगको युद्धविरामलाई विस्तार गर्ने घोषणा गरेका हुन् । यसअघि गरिएको गुद्धविरामीको सम्झौता बुधवार राति समाप्त हुँदै थियो ।

अमेरिकी राष्ट्रपतिले प्रस्ताव पेस नभएसम्म र छलफल निष्कर्षमा नपुगेसम्म युद्धविराम लम्ब्याउने बताएका छन् । यद्यपि अमेरिकी सैन्य बलले इरानविरुद्धको नाकाबन्दी जारी राख्ने र तयार र सक्षम रहने उनले जानकारी दिए । ट्रम्पले युद्धविराम लम्ब्याउने सम्भावना अत्यन्त कम भएको बताए ।

मङ्गलवार बिहान अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आफू युद्धविराम गर्न नचाहेको र इरानसँग कुनै सम्झौता नभएमा पुनः बमबारी गर्ने धम्कीसमेत दिएका थिए ।

पाकिस्तानको भ्रमण स्थगित गरेका अमेरिकी उप–राष्ट्रपति जेडी भान्स ह्वाइट हाउसमा महत्त्वपूर्ण बैठकहरूमा सहभागी भएको रिपोर्ट गरिएको छ । बैठकमा ट्रम्पका विशेष दुत स्टीव विटकफ र उनका ज्वाइँ जेरेड कुश्नर पनि बैठकमा सामेल भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानी विदेश मन्त्री अब्बास अराघचीले अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी गरेर युद्धविरामको उल्लङ्घन गरेको टिप्पणी गरेका छन् ।

वाशिंगटनबाट आएका विरोधाभासी सन्देशहरूबाट असन्तुष्ट इरानले अझै शान्ति वार्तामा सहभागी हुने वा नहुने निर्णय नगरेको इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेई बताए ।

Back to top