×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको राजस्व संकलनमा केही सुधारको संकेत देखिए पनि वार्षिक लक्ष्य हासिल गर्न भने अझै चुनौतीपूर्ण बनेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा महानगरपालिकाले ४३ करोड ७४ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ, जुन निर्धारण गरिएको लक्ष्यको तुलनामा निकै कम हो।

महानगरको राजस्व महाशाखाका अनुसार साउनदेखि चैत मसान्तसम्म विभिन्न कर शीर्षकबाट ४३ करोड ७४ लाख ३६ हजार ५४५ रुपैयाँ राजस्व संकलन भएको हो। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ करोड ४१ लाख रुपैयाँले बढी भए पनि समग्र लक्ष्यसँग तुलना गर्दा प्रगति सन्तोषजनक मानिएको छैन। गत वर्ष सोही अवधिमा ३७ करोड ३३ लाख २९ हजार ३७६ रुपैयाँ राजस्व उठेको थियो।

महानगरपालिकाले चालू आर्थिक वर्षका लागि १ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। तर हालसम्म लक्ष्यको २५ प्रतिशत पनि पूरा हुन नसकेको अवस्था छ, जसले लक्ष्य प्राप्ति हुने सम्भावनामाथि गम्भीर प्रश्न उठाएको छ।

राजस्व महाशाखा प्रमुख मनोज कर्णले हालको प्रगतिले लक्ष्य भेट्टाउन निकै कठिन देखिएको स्वीकार गरेका छन्। “संकलनको दर बढाउने प्रयास भइरहेका छन्, तर लक्ष्य र उपलब्धिबीचको खाडल ठूलो छ,” उनले बताए।

वीरगञ्ज महानगरका लागि लक्ष्यअनुसार राजस्व उठाउन नसक्नु नयाँ समस्या भने होइन। गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ६० करोडको लक्ष्य राखिए पनि ६५ करोड रुपैयाँ मात्र संकलन भएको थियो।

विशेषज्ञहरूका अनुसार निरन्तरको सुस्त राजस्व संकलनले आगामी विकास योजना, पूर्वाधार निर्माण र प्रशासनिक खर्चमा प्रत्यक्ष असर पार्नेछ। लक्ष्यअनुसार आम्दानी नहुँदा महानगरको वित्तीय स्वायत्तता कमजोर हुने र ठूला योजनाहरू प्रभावित हुने देखिएको छ।

अब बाँकी तीन महिनामा उल्लेखनीय सुधार नआए यस वर्ष पनि राजस्व लक्ष्यको ठूलो हिस्सा कागजमै सीमित रहने निश्चितजस्तै देखिएको छ।

Back to top