×

वीरगञ्ज । बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक भेला ‘इज्तिमा’मा विदेशी नागरिकहरूको सहभागिता रोक्न माग गर्दै विश्व हिन्दु परिषद् नेपालले प्रशासनको ध्यानाकर्षण गराएको छ ।

परिषद्ले बुधवार बारा र पर्सा जिल्ला प्रशासन कार्यालयमा छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै कार्यक्रममार्फत तेस्रो मुलुकका नागरिकहरूको अवैध प्रवेश हुन सक्ने भन्दै कडाइ गर्न आग्रह गरेको हो ।

बारा प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई पत्र बुझाइएको हो ।

आगामी वैशाख ११ देखि १४ गतेसम्म बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुरमा इज्तिमा आयोजना हुने तयारी भइरहेको छ । परिषद्का अनुसार पाकिस्तान, बङ्गलादेश लगायतका देशबाट सहभागी आउने सम्भावना रहेको सूचनाप्रति आपत्ति जनाइएको छ ।

ध्यानाकर्षण पत्रमा धार्मिक कार्यक्रमको आवरणमा अवैध विदेशी प्रवेश हुन सक्ने र उनीहरू नेपालमै लुकिछिपी बस्ने जोखिम रहेको उल्लेख गरिएको छ । परिषद्ले विगतका घटनालाई स्मरण गर्दै केही विदेशी सहभागीहरू फिर्ता नभएको दाबीसमेत गरेको छ ।

परिषद्ले विशेषगरी नेपाल–भारत सीमा क्षेत्रको संवेदनशीलताका कारण सुरक्षा जोखिम बढ्न सक्ने भन्दै विदेशी सहभागिताको कडाइका साथ छानबिन र नियन्त्रण गर्न प्रशासनसँग माग गरेको छ ।

साथै, कार्यक्रमका गतिविधि र विदेशीहरूको अवस्थाबारे प्रशासनले पारदर्शी निगरानी गर्नुपर्ने सुझाव पनि परिषद्ले दिएको छ ।

Back to top