×

वीरगञ्ज । बाराको कलैयास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै यादवविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले यादवविरुद्ध १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बिगो मागदाबी गरेको छ । यादवले सार्वजनिक जागिरमा प्रवेश गरेदेखि जाँच अवधिमा वैध आयको तुलनामा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोग पत्रमा उल्लेख छ ।

यादव सेवामा प्रवेश गरेको २०४७/०३/३१ देखि २०८०/०९/२९ सम्मको अवधिको उनको आयव्यय जाँच गरिएको थियो । यादवले अवैध रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती निर्मला कुमारीको नाममा समेत राखेको देखिएकाले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको छ ।

Back to top