वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपालले भन्सार राजस्व नतिरी भारतबाट ल्याएर प्रयोग गरिएका २२ थान नम्बर प्लेट नभएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ ।
सीमावर्ती भारतीय बजार रक्सौलमा सस्तोमा उपलब्ध हुने तथा सवारी चालक अनुमति पत्र समेत आवश्यक नपर्ने भएकाले वीरगञ्ज र आसपासका स्थानीयले उक्त स्कुटर खरिद गरी प्रयोग गर्दै आएका थिए ।
यद्यपि, भन्सार प्रक्रिया पूरा नगरी अवैध रूपमा स्कुटर प्रयोग बढेपछि सशस्त्र प्रहरीले बिहीबारदेखि विशेष अभियान सञ्चालन गरेको हो ।
अभियानको पहिलो दिनमै वीरगञ्जसहित विभिन्न नाकाबाट २२ थान स्कुटर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनराज निरौलाले जानकारी दिए ।
उनका अनुसार वीरगञ्ज–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वीरगञ्ज–२४ सिर्सिया नाकाबाट ७ थान र विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा नाकाबाट १ थान स्कुटर नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका स्कुटरहरूको कुल मूल्य १७ लाख ३० हजार रुपैयाँ आङ्कलन गरिएको छ । ती सबै सवारी साधनलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।