वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले गण्डक नहर क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने तयारी गरेको छ ।
वीरगञ्जको गण्डक चोकदेखि जानकी टोला इनरवासम्म फैलिएको करिब २६ किलोमिटर क्षेत्रभित्र नहर किनारामा बनेका घर, टहरा तथा अन्य संरचनाहरू हटाइने प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
उनका अनुसार आइतबारदेखि अतिक्रमित संरचना भत्काउने काम औपचारिक रूपमा सुरु गरिनेछ । यसका लागि प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबिच समन्वय गरी विशेष कार्य योजना तयार गरिएको छ ।
प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित सहरी विकासका लागि अतिक्रमण हटाउने अभियानलाई प्राथमिकतामा राखिएको जनाएको छ । साथै नहर क्षेत्रलाई सुरक्षित, सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको स्पष्ट पारिएको छ ।