×

इरानी विदेशमन्त्री अब्बास अराघची शुक्रबार साँझ पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन्। इरान र अमेरिकाबीच बढ्दो सैन्य तनाव र युद्धको स्थितिलाई मत्थर पार्न पाकिस्तानले गरिरहेको कूटनीतिक प्रयासकै सिलसिलामा अराघचीको यो भ्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनएका छन्। 

इस्लामाबादमा रहँदा उनले उच्चस्तरीय पाकिस्तानी अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम रहेको छ, जसलाई अमेरिका र इरानबीचको सम्भावित सिधा वार्ताको महत्वपूर्ण तयारीको रूपमा विश्लेषण गरिएको छ।

यसै कूटनीतिक सरगर्मीकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुशनर पनि पाकिस्तानका लागि प्रस्थान गरिसकेका छन्। अमेरिकी टोलीको यो सक्रियताले लामो समयदेखि जारी युद्ध अन्त्यका लागि दुवै पक्ष एकै ठाउँमा आउनसक्ने संकेत गरेको छ। 

यसअघि शुक्रबार नै विदेशमन्त्री अराघचीले पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिर र विदेशमन्त्री मोहम्मद इशाक दारसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन्। ती छलफलहरू मुख्यतया अमेरिका र इरानबीच कायम रहेको युद्धविरामलाई निरन्तरता दिने र क्षेत्रीय शान्ति कायम गर्ने विषयमा केन्द्रित रहेका थिए।

पाकिस्तानले संकटमा सक्रिय मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। इस्लामाबादमा हुन लागेको यो भेटवार्ताले दुई देशबीच दोस्रो चरणको औपचारिक वार्ताका लागि ठोस मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। 

इरानी सञ्चारमाध्यम आइआरएनएका अनुसार पाकिस्तानको भ्रमण सकेर विदेशमन्त्री अराघची ओमानको राजधानी मस्कट र त्यसपछि रुस प्रस्थान गर्ने तालिका रहेको छ। यद्यपि, यो सम्भावित वार्ताका विषयमा अमेरिका वा इरानकातर्फबाट हालसम्म कुनै आधिकारिक संयुक्त वक्तव्य भने जारी गरिएको छैन। 

तेहरानले वार्ताका लागि आफ्ना सर्तहरू पूरा हुनुपर्ने अडान राख्दै मतभेद कम गर्न र छिमेकी राष्ट्रहरूसँग समन्वय गर्न आफूहरू तयार रहेको स्पष्ट पारेको छ।

इरान र अमेरिकाबीचको भीषण सैन्य टकराव फेब्रुअरीमा शुरू भएको थियो। यसअघि दुई साताअघि पाकिस्तानकै मध्यस्थतामा पहिलो चरणको वार्ता भएको थियो। यद्यपि, पहिलो चरणको वार्ताले कुनै दीर्घकालीन राजनीतिक समाधान निकाल्न नसकेपछि अहिलेको यो दोस्रो चरणको कूटनीतिक प्रयासलाई विश्व समुदायले निकै चासोका साथ हेरिरहेको छ।

Back to top