गर्मी मौसममा चर्को घाम, पसिना, धुलो र प्रदूषणले टाउको र कपाललाई बढी असर पार्छ। यस मौसममा कपाल चिपचिपे भएर टाँसिन्छ भने कसैको कपाल सुक्खा र निर्जीव हुन्छ। यस्तो कपाल देखेपछि ननुहाइकन मनले मान्छ र ? तर कपाल दिनदिनै नुहाउनु हुन्छ कि हुँदैन भन्ने विषयमा प्रायः बहस हुने गर्छ।
हाम्रो टाउकोले प्राकृतिक रूपमा 'सेबम' नामक तेल उत्पादन गर्छ। यो तेलले कपाललाई सुक्खा हुनबाट जोगाउँछ र प्राकृतिक चमक दिन्छ। यद्यपि, गर्मीमा अत्यधिक पसिनाका कारण धुलो र फोहोरसँग मिलेर यो टाउकोमा टाँसिन्छ। लामो समयसम्म नुहाइएन भने यसले टाउको चिलाउने, चाया (डन्ड्रफ) पर्ने र कपाल झर्नेजस्ता समस्याहरू निम्त्याउन सक्छ। तर, यसो भन्नुको मतलब तपाईंले हरेक दिन स्याम्पु गर्नुपर्छ भन्ने चाहिँ होइन।
बारम्बार स्याम्पु गर्नाले टाउकोको प्राकृतिक तेल कम हुन सक्छ, जसले गर्दा कपाल कमजोर र सुक्खा हुन थाल्छ। कपाल कति पटक नुहाउने भन्ने कुरा कपालको प्रकृतिमा भर पर्छ। तेलीय (चिल्लो) कपाल भएका व्यक्तिहरूले हप्तामा लगभग तीन पटक आफ्नो कपाल धुनुपर्ने हुन सक्छ। सुक्खा वा घुमाउरो कपाल भएकाहरूका लागि हप्तामा एक वा दुई पटक मात्र स्याम्पु लगाउनु उपयुक्त मानिन्छ। घुमाउरो कपालमा प्राकृतिक तेलहरू जरादेखि टुप्पोसम्म छिटो पुग्न सक्दैनन्, त्यसैले यो छिट्टै सुक्छ। अर्कोतर्फ, पातलो र सिधा कपाल छिटो चिल्लो देखिन थाल्छ। त्यसकारण, सबैखाले कपालमा एउटै नियम लागू हुँदैन।
धेरै तातो पानीले कपाल धुनु हानिकारक हुन सक्छ। तातो पानीले कपालको ओसिलोपन हटाउँछ। तसर्थ, मनतातो वा सामान्य पानीले कपाल धुनु राम्रो हुन्छ। स्याम्पु सीधै कपालमा खन्याउनुको सट्टा हातमा लिएर हल्का फिँज निकालेपछि मात्र बिस्तारै टाउकोको छालामा दल्नुहोस्। स्याम्पु प्रयोग गरेपछि कन्डिसनर लगाउनु पनि लाभदायक मानिन्छ। यसले कपाललाई नरम बनाउँछ र टुक्रिनबाट रोक्न मद्दत गर्छ।
(अस्वीकरण: सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्छ। थप जानकारीका लागि सधैँ छाला रोग विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्।)