बिहारको पूर्णिया जिल्लामा कार्यरत महिला थाना प्रमुख (एस.एच.ओ) शबाना आजमीलाई प्रहरी मुख्यालयको आचारसंहिता उल्लंघन गरेको आरोपमा तत्काल लागू हुने गरी निलम्बन गरिएको छ।
प्रहरी वर्दी लगाएर सामाजिक सञ्जालमा ‘रिल’ बनाउने र विभागीय मर्यादा कायम राख्न नसक्ने कार्यशैलीका कारण उनलाई पूर्णियाकी एसपी स्वीटी सहरावतले कारबाहीको दायरामा ल्याएकी हुन्। प्रहरी मुख्यालयले वर्दीको दुरुपयोग नगर्न जारी गरेको कडा नीति (एस.ओ.पी) को बारम्बार उल्लंघन गरेपछि उनलाई पदबाट हटाइएको हो ।
प्रहरी मुख्यालयले लामो समयदेखि सामाजिक सञ्जालको प्रयोग र विशेषगरी वर्दीमा भिडियो बनाउने कार्यलाई लिएर स्पष्ट निर्देशन जारी गर्दै आएको छ । यद्यपि, बारम्बारको चेतावनी र निर्देशनका बाबजुद थाना प्रमुख आजमीले आफ्नो पदिय आचरणमा सुधार ल्याउन नसकेपछि प्रशासनले कठोर कदम चालेको हो ।
यस विषयमा बोल्दै पूर्णियाकी एसपी सहरावतले प्रहरी संगठनको अनुशासन र वर्दीको गरिमासँग कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट पारेकी छन् । उनले मातहतका सबै सुरक्षाकर्मीलाई सचेत रहन र निर्धारित आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन दिएकी छन् ।
विवादसँग आजमीको पुरानो नाता रहेको छ । यसअघि कसबा थानामा कार्यरत रहँदा होस् वा फणीश्वर नाथ रेणु टीओपीको नेतृत्व सम्हाल्दा, उनका गतिविधिहरू पटक-पटक विवादमा पर्ने गरेका थिए ।
विशेषगरी कार्यालयको आधिकारिक कुर्सीमै परिवारका सदस्यहरूलाई राखेर तस्बिर खिचाएको र सामाजिक सञ्जालमा भाइरल भएको विषयले पनि विभागमा उनको छवि धमिलिएको थियो । पटक-पटकका सचेतनामूलक निर्देशनहरूलाई लत्याउँदै उनले देखाएको कार्यशैलीलाई विभागले अनुशासनहीनताको पराकाष्ठाका रूपमा लिएको छ ।
आजमीमाथिको यस कारबाहीले पूर्णियासहितका छिमेकी जिल्लाका प्रहरी संयन्त्रमा तरंग सिर्जना गरेको छ । सस्तो लोकप्रियता र सामाजिक सञ्जालको मोहमा फसेर वर्दीको मर्यादा बिर्सने अन्य सुरक्षाकर्मीहरूका लागि यो घटना एउटा गम्भीर पाठ र चेतावनी बनेको छ ।