×

फाईल फोटो

बारा । पथलैया क्षेत्रमा ट्राफिक प्रहरीले ओभरलोड मालवाहक सवारीसाधनविरुद्ध कडाइ बढाएको छ। क्षमताभन्दा बढी सामान बोकेर गुड्ने सवारीलाई लक्षित गर्दै सुरु गरिएको निगरानी अभियानअन्तर्गत दुई दिनमै ६ वटा गाडी कारबाहीमा परेका छन्।

नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय का अनुसार ती सवारीबाट १ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ। कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंह ले अब ओभरलोड सवारीलाई सामान्य जरिवाना गरेर छाड्ने अभ्यास हटाइएको बताए। उनका अनुसार यस्ता सवारीलाई सिधै यातायात व्यवस्था कार्यालय वीरगञ्ज पठाइ कडाभन्दा कडा कारबाही गरिने व्यवस्था लागू गरिएको छ।

उनले मधेश प्रदेशभरका मातहत कार्यालयलाई समेत ओभरलोड नियन्त्रणमा सक्रिय हुन निर्देशन दिएका छन्। “निर्देशिका २०७४ अनुसार तोकिएको सीमा पालना गर्न चालकलाई सचेत गराउँदै अटेर गर्नेलाई अनिवार्य कारबाहीमा ल्याइनेछ,” उनले भने।

कार्यालयका तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख १० गतेसम्म २६५ ओभरलोड सवारी कारबाहीका लागि सिफारिस भइसकेका छन्, जसबाट ४० लाखभन्दा बढी राजश्व संकलन भएको छ।

ट्राफिक कारबाहीको दायरा ओभरलोडमा मात्रै सीमित नरहेको जनाउँदै चैत मसान्तसम्म ८० हजारभन्दा बढी सवारीमाथि गरिएको कारबाहीबाट ७ करोडभन्दा बढी राजश्व उठेको छ। साथै मापसे गरेर सवारी चलाउने ३ हजार २ सय ४५ चालकलाई पनि कारबाही गरिएको छ।

यस अवधिमा जनचेतना अभिवृद्धिका लागि १६ हजारभन्दा बढी कार्यक्रम सञ्चालन गरिएको र ७ लाखभन्दा बढी नागरिक लाभान्वित भएको कार्यालयले जनाएको छ।

मधेश प्रदेशमा बढ्दो सवारी दुर्घटनालाई लक्षित गर्दै ट्राफिक प्रहरीले विशेष निगरानी तीव्र पारेको छ। चालु वर्षमै ६ हजारभन्दा बढी दुर्घटना हुँदा ३ सय ९८ जनाको मृत्यु भएको छ भने ९ हजारभन्दा बढी घाइते भएका छन्।

त्यसैगरी, पटक–पटक नियम उल्लंघन गर्ने १५ जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको छ।

Back to top