×

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा भएको गोलीकान्डबारे थप स्पष्ट पार्न र पारदर्शिता कायम गर्न भन्दै हिरासतमा रहेका शंकास्पद व्यक्तिको तस्बिर तथा घटनास्थलको सुरक्षा क्यामेरा फुटेज सार्वजनिक गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत संदिग्ध व्यक्तिको तस्बिर पोस्ट गरेका छन् भने प्रारम्भिक क्षणको फुटेज पनि सार्वजनिक गरेका छन्, जसमा गोली चल्न थालेको दृश्य कैद भएको देखिन्छ। ट्रम्पका अनुसार आक्रमणका क्रममा युनाइटेड स्टेट्स सेक्रेट सर्भिसका एक अधिकारीमाथि निकै नजिकबाट गोली प्रहार गरिएको थियो।

यसैबीच, ट्रम्पले एफबीआई निर्देशक र गृहमन्त्रीसँगै उभिएर सम्बोधन गरेका छन्। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै उनले सुरक्षा निकायका प्रमुखहरूसँग ऐक्यबद्धता प्रदर्शन गरेका छन्।

सेक्रेट सर्भिसको सतर्कताले ट¥यो ठूलो क्षति
ट्रम्पले आक्रमणकारीको गतिविधि र सुरक्षा निकायको प्रतिक्रियाबारे थप विवरण दिएका छन्।  उनका अनुसार एक व्यक्ति विभिन्न हतियारसहित सुरक्षा चेकपोइन्टतर्फ अघि बढेका थिए। ती सशस्त्र व्यक्तिलाई सेक्रेट सर्भिसका सदस्यहरूले तत्काल नियन्त्रणमा लिएका थिए। 

चेकपोइन्टमै उनलाई निस्तेज पारिएकाले उनी मुख्य समारोह स्थलसम्म पुग्न सकेनन्, जसका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ। आक्रमणमा घाइते भएका सुरक्षाकर्मीले लगाएको बुलेटप्रुफ ज्याकेटका कारण ज्यान जोगिएको ट्रम्पले बताएका छन्। 

उनले भने, ‘मैले भर्खरै ती अधिकारीसँग कुरा गरेँ, उनी अहिले निकै राम्रो अवस्थामा छन्।’ ट्रम्पका अनुसार ती सुरक्षाकर्मीको मनोबल उच्च रहेको छ। उनले भने, ‘हामी तिमीलाई माया गर्छौँ र तिम्रो बहादुरीको सम्मान गर्छौँ।’

ट्रम्पले हिरासतमा रहेका शंकास्पद आक्रमणकारीलाई ‘अत्यन्तै बिरामी व्यक्ति’ को संज्ञा दिएका छन्। उनले यस्ता हिंसात्मक घटनाहरू अस्वीकार्य रहेको बताएका छन्। ट्रम्पले ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएशनलाई धन्यवाद दिँदै अभिव्यक्ति स्वतन्त्रता र संविधानप्रति केन्द्रित कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गरेका छन्। 

स्थगित गरिएको कार्यक्रम ३० दिनभित्र पुनः आयोजना गरिने र अझ भव्य बनाइने उनले बताएका छन्। सामान्यतया सञ्चारमाध्यमप्रति आलोचनात्मक रहने ट्रम्पले यसपटक भने मिडियाको भूमिकाको प्रशंसा गरेका छन्। उनले घटनाको कभरेजमा मिडियाले जिम्मेवार भूमिका निर्वाह गरेको बताएका छन्।

यसैबीच, अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चले घटनामा संलग्न व्यक्तिहरूविरुद्ध छिट्टै मुद्दा दायर गरिने जानकारी दिएका छन्। उनका अनुसार दोषीमाथि लगाइने आरोपहरू स्पष्ट र गम्भीर हुनेछन्।

Back to top